काठमाडौँ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
शून्य समयमा सांसद्हरुले शिक्षक र स्वास्थ्य कर्मीमाथि हुने दुव्र्यबहारको अन्त्य गर्नुपर्ने , नागरिकता विहीन नागरिकलाई नागरिकता दिनुपर्ने, महिला माथि हुने हिंसाको अन्त्य गर्नुपर्ने राष्ट्रिय परिचयपत्र बनाउँदा आफ्नो संस्कृति, रीतिरिवाजअनुसार लगाइएका शृंगार र पोशाक लगाउन नपाइने नियम हटाउन माग गरिएको छ र सहकारीबाट पीडित नागरिकको मागलाई सम्बोधन गर्नुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद्हरुले बर्षायाममा हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न तत्काल जोखिमयुक्त क्षेत्रमा तटबन्ध लगाउनुपर्ने, धर्नामा रहेका विद्यालयका कर्मचारीको माग सम्बोधन गर्नुपर्ने ,विभिन्न आयोजनामा भएका अनियमितताको छानबिन हुनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
आजको बैठकमा पनि आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका विभिन्न शीर्षकहरूमाथिको छलफल जारी छ ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि छुटाइएको बजेटका विभिन्न शीर्षकहरूमाथि छलफल हुने कार्यसूची छ ।