काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीबारे प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई जोड्नु उचित नभएको बताउनुभएको छ ।
माओवादी सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरुद्ध गरेपछि प्रधामन्त्रीले आज संसदमा स्पष्टीकरण दिदै जलहरी लगायतका विषयमा काम गर्ने क्षेत्रनधिकार पशुपति विकास कोसको भएको र यसमा कुनै विवाद नभएको बताउनुभयो ।
बैठकमा सभामुख देवराज घिमिरेले यही जेठ १० गते नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिने क्रममा सांसद लेखनाथ दाहालले प्रयोग गर्नुभएको विचारभित्र ‘स्वास्थ्य सामग्रीको दुई अर्बको भ्रष्टाचार र पशुपतिनाथको जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचारहरू’ भन्ने शब्द संसद्को अभिलेखबाट हटाउन निर्देशन दिनुभयो ।
यसअघि माओवादी सांसद लेखनाथ दाहालले ओली प्रधानमन्त्री हुँदा भ्रष्टाचारका काण्डहरु भएको आरोप लगाउनुभएको थियो । उहाँले स्वास्थ्य सामग्रीको दुई अर्बको भ्रष्टाचार र पशुपतिनाथमा जलहरी लाउँदा सुन लाउने भनेर पित्तल लाइदिएर भ्रष्टाचार गरेको आरोप लगाएपछि जेठ १२ गतेको बैठकमा एमाले सांसदहरुले अभिव्यक्ति आपत्ति जनाक रहेको भन्दै संसद बैठक अवरुद्ध गरेका थिए ।
प्रमुख प्रतिपक्षी दलका नेतामाथि पशुपतिमा सुनको जलहरी भनेर पित्तल टाँसेर आरोपित गरेको भन्दै माफी माग्नुपर्ने अडान एमाले सांसदहरुले राखेका थिए । एमाले सांसदहरुले रोष्टम नै घेराउ गरेपछि शुक्रबार संसद नियमित कार्यसूचीमा प्रवेश नै गर्न सकेन । शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार प्रधानमन्त्रीले स्पष्टीकरण दिएपछि संसदको अवरोध हटेको छ ।