रुपन्देही । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को सभापतिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अनेरास्ववियुका विजय कार्की निर्विरोध निर्वाचित हुनुभएको छ ।
अनेरास्ववियुको नेतृत्वमा नयाँ नेतृत्व छान्न संगठनहरु तयार भएपछि कार्की निर्विरोध हुनुभएको हो । जसअनुसार सचिवमा नेविसंघका निराजन खरेल, कोषाध्यक्षमा अनेरास्ववियुका योगेन्द्र रायमाझी निर्वाचित हुनुभएको छ ।
खुला सदस्यमा अनेरास्वयिुका श्रृजन नेपाल, प्रकृति गौतम, प्रकाश पौडेल, नेविसंघका भुवनेश्वर अधिकारी, पुनम कुँवर र अनेरास्ववियु क्रान्तिकारीका निशा बन्जाडे र प्रसुन ज्ञवाली निर्विरोध निवाचित हुनुभएको निर्वाचन अधिकृत सहप्राध्यापक गोपालप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
उहाँकाअनुसार निर्वाचन तालिकामा जेठ ११ गते दिउँसो ११ बजेसम्म प्राप्त उम्मेदवारी फारामअनुसार उनीहरुको मात्रै उम्मेदवारी परेको थियो ।
निर्वाचन समितिले निर्विरोध भएका नामावलीबारे १२ गते दिउँसो साढे १२ बजेसम्म कसैको दाबी विरोध भए पेश गर्न आग्रह गरेको थियो । १९ सदस्यीय स्ववियु बोर्डमा विद्यार्थी संगठनले गरेको सहमतिअनुसार अनेरास्ववियुले अध्यक्ष, कोषाध्यक्षसहित ९, नेविसंघले उपाध्यक्ष, सचिवसहित ६, अखिल क्रान्तिकारीले सहसचिवसहित २ सदस्य, विप्लव निकट क्रान्तिकारीलाई २ सदस्य दिने गरी सहमति भएको थियो ।
निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि रोकिएको निर्वाचन उच्च अदालत तुल्सीपुर बुटवल इजलासको अन्तरिम आदेशपछि पुनः प्रक्रियामा गएको हो ।
यसअघि चैत ५ गते निर्वाचनका लागि नामावली प्रकाशन भएको अवस्थामा अनेरास्ववियुबाहेकका विद्यार्थी संगठनले निर्वाचन कार्यालयमा तालाबन्दी गरेका थिए ।