रुपन्देही । नेपाली काङ्ग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनीको मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको छ । चौधरीले काङ्ग्रेस, नेकपा माओवादी लगायतका ८ दलका ५३ जना सांसदको हस्ताक्षरसहित आज दिउँसो प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गर्नुभएको हो ।
प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश सरकार गठनका लागि आह्वान गर्नुभएको थियो । यसअघि नै काङ्ग्रेस र माओवादी केन्द्रसहित ८ दल र एक स्वतन्त्र गरी ५३ सांसदहरुले मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेको भन्दै चौधरीलाई संविधानको धारा १६८ ९२० अनुसार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख अमिक शेरचनसमक्ष निवेदन दिएका थिए ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा नेकपा (एमाले) का २९, नेपाली काङ्ग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४÷४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३÷३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक। एक जना र स्वतन्त्र एक जना सदस्य रहेका छन् । चौधरीलाई एमाले र राप्रपा बाहेक सबै दलका सदस्यको समर्थन रहेको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले आजै चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
लुम्बिनीमा नेकपा एमालेले पनि संविधानको धारा १६८( ३) अनुसार ठूलो दलको हैसियतमा लिला गिरीलाई मुख्यमन्त्री नियुक्त गर्न निवेदन दिएको छ ।