बुटवल-नेकपा अध्यक्ष प्रचण्ड सहभागी हेरेर भाषण गर्न सिपालु छन् । उनी भाषण कलामा पनि प्रखर छन् । सहभागी हेरेर भाषण गर्ने प्रचण्ड प्रदेश ५ को राजधानीका सवालमा भने विवादित बनेका छन् ।
उनले कहिले अस्थायी राजधानीलाई नै स्थायी बनाउने बताए भने कहिले तिलौराकोट त कहिले दाङ भनेर विवादमा मुछिए ।
मंसिर १८, २०७५ मा १०औं कपिलवस्तु महोत्सव उद्घाटनका क्रममा कपिलवस्तुमा उनले भनेका थिए-'साँच्चै लुम्बिनी नाम राख्दा के चाहिँ फरक पर्छ त?, हामीले गण्डकी, कर्णाली राख्यौं भने लुम्बिनी हाम्रो इतिहाससँग जोडिएको छ, यसमा आदिवासी जनजाति पनि जोडिएको भन्ने छ। सबैलाई समेट्ने नाम छ भने लुम्बिनी नाममा हामीले आपत्ति गर्नुपर्ने केही पनि छैन।'
उनले कपिलवस्तुलगायतका जनताको भावनालाई आफूले सम्मान गर्ने भन्दै प्रदेश ५ को नाम र राजधानीका विषयमा पार्टी नेतृत्व र सरकारसँग छलफल गर्ने आश्वासन दिए।
उनले भने, 'लुम्बिनी र तिलौराकोटको ऐतिहासिकताबारे तपाईहरुका भावना समेटेर पार्टी र सरकारमा तर्कहरु राख्नेछु।'
उनी भैरहवामा आएर अस्थायी राजधानी रहेका स्थानलाई स्थायी राजधानी बनाउने तयारी भएको बताए । मङि्सर २०, २०७५ मा सातौं लुम्बिनी राष्ट्रिय महोत्सव २०७५, पर्यटन, कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला उद्धघाटन गर्दै प्रचण्डले सबैमा एक खालको सोच बसिसकेको अवस्थामा अस्थायी प्रदेश राजधानीलाई नै स्थायी राजधानीको रुपमा अघि बढाउने बारेमा छलफल भइरहेको बताएका थिए ।
प्रचण्डले १ वर्षभित्र प्रदेश ५ को राजधानीबारे बोलेका समाचारका लिंकहरु