काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिब, विपन्न र उत्पीडित वर्गको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र र यसको नेतृत्व नै भएको बताउनुभएको छ । शनिबार दिउँसो काठमाडौंमा आयोजित विश्व नेवार दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले गरिब र उत्पीडित वर्गले आफ्नो असल प्रतिनिधि चिन्न सक्नुपर्ने बताउनुभएको हो ।
कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, “नेपाल जनताको त्याग र बलिदानको बलमा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक विशेषतासहितको संवैधानिक व्यवस्था गरिएको छ । यद्यपि, वर्तमान संविधान हामीले अपेक्षा गरेजस्तै पूर्ण चाहिँ छैन । नयाँ संविधानमा पहिचान र अधिकार स्थापित गर्न म र हाम्रो पार्टीले मुख्य सङ्घर्ष गरेको थियो । जे–जति अधिकार लेखिएका छन्, त्यसका लागि निर्णायक भूमिका खेलेको थियो । इमान्दार र निरन्तर सङ्गठित प्रयास भइरहने हो भने संविधानमा संस्थागत गर्न बाँकी अधिकार क्रमशः स्थापित हुँदै जानेछन् । तसर्थ, सबै उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो असली प्रतिनिधि को हो भन्ने कुरा राम्रोसँग चिन्न जरुरी छ ।”
प्रधानमन्त्री प्रचण्डले नेवार जातिको अध्ययन तथा अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने घोषणासमेत गर्नुभएको छ । नेपालको सभ्यता, संस्कृति, इतिहास, भाषा, कला र साहित्यका निम्ति नेवारले गरेको अनवरत सङ्घर्षको उच्च सम्मान गर्दै आफूले सो जातिको अध्ययन÷अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने तयारी गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।
प्रधानमन्त्री प्रचण्डले नेवार समुदायका लागि खोलिने सो प्रतिष्ठान सिङ्गो नेपालकै लागि हुने स्पष्ट पार्नुभयो । नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिलाउने काम पनि आफू पहिलो पटक प्रधानमन्त्री भएको बेला गरेको स्मरण गराउनुभयो ।
‘‘पहिलो चोटि प्रधानमन्त्री भएपछि नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिलाउनका लागि यही वसन्तपुर डबलीबाट घोषणा गरेको थिएँ । नेवारको सभ्यता, इतिहास र संस्कृतिको अनुसन्धान गर्न एउटा अनुसन्धान समिति वा अनुसन्धान प्रतिष्ठान बनाउन जरुरी छ भन्ने सुझाव यहाँ आएको छ । यसमा मेरो ध्यान गम्भीर रूपले आकर्षित भएको छ । नेपालको सभ्यता, संस्कृति र इतिहास, भाषा, साहित्य र कलाको निम्ति नेवारले गरेको अनवरत सङ्घर्षप्रति मेरो उच्च सम्मान रहेको छ । त्यसकारण म एउटा कुनै अध्ययन प्रतिष्ठान बनाउने कुरामा तपाईँहरूको अगाडि प्रतिबद्धता व्यक्त गर्दछु ।’’ प्रधानमन्त्री प्रचण्डले नेवार समुदाय विश्वमै नगर सभ्यता सुरु गर्ने अग्रज समुदाय भित्र पर्ने उल्लेख गर्दै त्यो नेपाल र नेपालीका लागि गर्वको विषय भएको बताउनुभयो ।