धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गर्नुभएको छ ।
प्रदेश सभा बैठकमा भएको मत विभाजनमा मुख्यमन्त्री शाहले (बहुमत) ४१ मत पाउनुभयो । यस्तै उहाँको विपक्षमा ११ मत खस्यो । बैठकमा सभामुख भीम बहादुर भण्डारीले विश्वासको मतको पक्षमा ४१ मत अर्थात् बहुमत पुगेकाले मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत पाउनुभएको घोषणा गर्नुभयो ।
मुख्यमन्त्री शाहलाई नेपाली काँग्रेस १९, नेकपा माओवादी केन्द्र १०, नागरिक उन्मुक्ति ७, नेकपा एकीकृत समाजवादी ४ र स्वतन्त्र १ जना प्रदेश सभा सदस्यले मत दिनुभयो । यसैगरी नेकपा एमालेका १० र राप्रपाका १ जना प्रदेश सभा सदस्यले विपक्षमा मतदान गर्नुभयो ।
विश्वासको मत प्राप्त गरेपछि प्रदेश सभा परिसरमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै मुख्यमन्त्री शाहले सबै दलहरूसँग सहकार्य र समन्वय गरि अघि बढ्ने बताउनुभयो ।