भक्तपुर । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
अध्यक्ष ओलीको नीजि निवास बालकोटमा आज भएको भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री दाहालले राष्ट्रपतिको विषयमा एक दुई दिनमा निष्कर्षमा पुग्ने कोसिसमा भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो “हामी सहमतिमै छौँ, सत्ता साझेदारको सरकार चलिरहेको छ, सँगै छौँ, यसलाई अझ कसरी राम्रो बनाउन लागिरहेका छौँ, एक दुई दिनमा निष्कर्ष निस्कन्छ ।”
राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा दुई शीर्ष नेताबीच निरन्तर बाक्लो छलफल भइरहेको छ । नेकपा एमालेले पुस १० मा भएको सहमति अनुसार नै राष्ट्रपति उम्मेदवार एमालेले पाउनुपर्ने दाबी गर्दै आएको छ ।
नेपाली काँग्रेसले पनि नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारलाई विश्वासको मत दिएको र संसद्को ठूलो दल भएकाले आफूहरूले नै राष्ट्रपति पाउनुपर्ने दबाब प्रधानमन्त्रीलाई दिँदै आएको छ ।