काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले आज राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की,राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सरकारका मन्त्रीसहित संवैधानिक अङ्गका पदाधिकारीहरू उपस्थित हुनुहुन्थ्यो ।
२०६२/६३ को जनआन्दोलनपछि पहिलो पटक सांसदहरूको मतविभाजनबाट सभामुख चयन गरिएको हो ।
प्रतिनिधि सभाको सभामुखमा बिहीबार नेकपा (एमाले) का सांसद घिमिरे निर्वाचित हुनुभएको थियो । झापाको अर्जुनधारा नगरपालिका –६ घर हुनुभएका घिमिरे झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँले १६७ मत प्राप्त गर्नुभएको छ ।
उहाँले प्राप्त गर्नुभएको मत सभाको बहुमत भएकाले प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले घिमिरे प्रतिनिधि सभाको सभामुख निर्वाचित हुनुभएको घोषणा गर्नुभएको थियो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले १०० मत पाउनुभएको थियो । उहाँ नेपाली कांग्रेसकी प्रतिनिधि सभा समानुपातिक सदस्य हुनुहुन्छ । मत दिन्न भन्ने पक्षमा एक मत मात्र परेको थियो ।