देउखुरी । लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखमा सत्ता साझेदार दलबाट उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभा सचिवको कार्यालयमा आज सभामुखको मनोनयन दर्ता भएको हो । सभामुखमा नेकपा (माओवादी केन्द्र) का तुलाराम घर्ती र उपसभामुखमा राप्रकाकी मेनुका खाँड केसीको मनोनयन दर्ता भएको हो ।
सभामुखको प्रस्तावकमा एमालेका नेता तथा प्रदेश सभा सदस्य भूमिश्वर ढकाल र समर्थकमा राप्रपा संसदीय दलका नेता आशिषकुमार चौधरी रहनुभएको छ । उपसभामुखको प्रस्तावकमा माओवादी केन्द्रका नेता तथा प्रदेश सभा सदस्य इन्द्रजित थारु र समर्थकमा जनमत पार्टीका संसदीय दलका नेता चन्द्रशेक गुप्ता रहनुभएको छ ।
सत्तारुढ दलबाट सभामुख र उपसभामुखमा मनोनयन दर्ता भएपछि नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको उपसभामुख पदमा मात्रै मनोनयन दर्ता भएको छ ।
कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र १ को (१) बाट निर्वाचित विश्वप्रेम पाठकको उपसभामुखमा मनोनयन दर्ता भएको छ ।
यस्तै, उपसभामुखमा नागरिक उन्मुक्ति पार्टीकी रुपन्देही जिल्ला निवासी निर्मलादेवी चौधरीको मनोनयन दर्ता भएको छ । भोलि सभामुख र उपसभामुख चयनका लागि निर्वाचन हुने प्रदेश सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो ।