पोखरा । गण्डकी प्रदेशको सभामुखमा नेकपा(माओवादी केन्द्र)का कृष्णप्रसाद धिताल निर्वाचित हुनुभएको छ ।
गोरखा क्षेत्र नं १ (१) बाट प्रदेशसभा सदस्यमा मा प्रत्यक्ष निर्वाचित धिताल गण्डकी प्रदेशको सभामुखमा निर्वाचित हुनुभएको हो ।
धिताललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा मतदान हुँदा पक्षमा ३२ र विपक्षमा २६ मत परेको छ । आजको मतदान प्रक्रियामा ५८ सदस्यको सहभागिता रहेको थियो ।
सभामुख चयनका लागि आज बसेको प्रदेशसभाको बैठकले धिताललाई सभामुखमा चयन गरेको ज्येष्ठ सदस्य मित्रलाल बस्यालले जानकारी गराउनुभयो। सभामुख पदका लागि नेपाली काँग्रेसकी सरस्वती अर्यालले पनि उम्मेदवारी दिनुभएको थियो ।
सत्ता गठबन्धनमा गण्डकी प्रदेशको मुख्यमन्त्री नेकपा(एमाले) र सभामुख माओवादी केन्द्रले पाउने सहमति भएको थियो । सोही अनुसार नेकपा(एमाले)का संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर प्रदेशसभाबाट विश्वासको मत पाइसक्नुभएको छ ।