बुटवल । नेकपा माओवादी केन्द्रले आधा कार्यकालको माग गर्दै अन्तिम समयमा अड्को थापेपछि लुम्बिनी प्रदेशमा आज सरकार गठनका लागि दाबी प्रक्रिया रोकिएको छ ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्री ५ वर्षकै लागि एमालेको भागमा परेपछि नेकपा माओवादी केन्द्रका नेताहरु आलोपालो सरकारको नेृत्व हुनुपर्ने माग गर्दै केन्द्रमा धाएपछि आज दाबी प्रक्रिया रोकिएको हो ।
मंगलबार ४ बजे प्रदेश प्रमुख कार्यालय बुटवलमा सत्तागठबन्धन दलले बहुमत सदस्यसहित सरकारका लागि दाबी पेश गर्न जाने कार्यक्रम रहेपछि मुख्यमन्त्री बन्नकै लागि प्रदेशमा उम्मेदार बनेका माओवादी स्थायी कमिटी सदस्य जोखबहादुर महराले असन्तुष्टि जनाएर काठमाडौं जानुभएको थियो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर आलोपालो नेतृत्वमा सहमति जुटाउन महरा काठमाडौं पुगेको माओवादीका एक नेताले बताउनुभयो ।
स्थायी कमिटी सदस्य महरा लामो समय प्रचण्डको सचिवालयमा बसेर काम गरेको र प्रचण्डकै सल्लाहमा मुख्यमन्त्रीको दाबीसहित रोल्पाबाट चुनाव लड्नुभएको थियो । तर, भागबन्डामा मुख्यमन्त्री एमालेलाई परेपछि महरा असन्तुष्ट हुनुहन्छ ।
माओवादीका केही नेताले आधा कार्यकाल माओवादीलाई दिने सहमति भएको प्रचार पनि गरेका छन् तर यसको कुनै पुष्टि भएको छैन । एमाले सांसद भूमिश्वर ढकालले अन्य कुनै कारण नभइ नागरिक उन्मुक्ति र जनमतका सांसदहरु नआएर आज दाबी पेश गर्ने प्रक्रिया रोकिएको दावी गर्नुभयो । लुम्बिनीमा एमाले संसदीय दलका नेता एवं पूर्वमन्त्री लीला गिरी मुख्यमन्त्री बन्दै हुनुहुन्छ ।
प्रदेश प्रमुख शेरचनले पुस २७ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेपनि एक दिन अगाडि नै एमालेले सत्तारुढ दलहरुको समर्थनमा सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्ने तयारी गरेको थियो ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि कम्तीमा ४४ सदस्यको समर्थन आवश्यक पर्छ । सत्ता साझेदार दलहरुमध्ये सबैभन्दा धेरै नेकपा एमालेका २९ जना सदस्य छन् । यसैगरी माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४।४ तथा जसपा र जनमत पार्टीका ३। ३ जना सदस्य छन् ।
सत्तारुढ दलसँग ५३ प्रदेश सभा सदस्यको समर्थन रहेको छ । स्वतन्त्रबाट निर्वाचित २ सांसद माओवादीबाट टिकट नपाएर उठेका र एमालेले सहयोग गरेकाले उनीहरुको पनि सत्तारुढ दललाई समर्थन गर्ने संभावना छ ।
यसैगरी कांग्रेसका २७, लोसपाका ३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १।१ प्रदेश सभा सदस्य छन् ।