बुटवल । लुम्बिनी प्रदेशमा सरकार गठनका लागि गठबन्धन दलहरुले आज दाबी पेश गर्ने भएका छन् । प्रदेश प्रमुखले बहुमतीय सरकार गठनका लागि दिएको समय सीमाको एकदिन अगाडि नै दलहरुले दाबी पेश गर्न लागेका हुन् ।
सत्तारुढ दलको सोमबार बसेको बैठकले आज बहुमत सांसदको हस्ताक्षरसहितको दावी पेश गर्ने निर्णय गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते ४ बजेसम्म सरकार गठनका लागि समय दिनुभएको थियो ।
प्रदेशको भागवण्डा टुंगिएपछि लुम्बिनीमा एमालेले मुख्यमन्त्री पाउने भएको छ । लुम्बिनीमा एमाले संसदीय दलका नेता एवं पूर्वमन्त्री लीला गिरी मुख्यमन्त्री बन्दै हुनुहुन्छ ।
सोमबार दाङको देउखुरीमा एमाले संसदीय दलका लीला गिरीसहित सत्तापक्षीय गठबन्धनका नेताहरूको बैठकले मंगलबार ४ बजे सरकार गठनका लागि बहुमतसहितको दाबी पेस गर्ने सहमति गरेका हुन् ।
बैठकमा ४९ सदस्यको समर्थनसहित सरकार गठनका लागि दाबी पेस गर्ने सहमति भएको एमालेका प्रदेश सभा सदस्य भूमिश्वर ढकालले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा र जनमतका ३–३ सिट छन् । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ । नागरिक उन्मुक्तिका ४ र स्वतन्त्रबाट २ सदस्य निर्वाचित छन् । कांग्रेसका २७, लोसपाका ३ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १र१ सदस्य छन् ।