काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सरकारका गृहमन्त्री रवि लामिछानेले नेपाली जनताको आशाको मतलाई खेर जान नदिने बताउनुभएको छ ।
प्रतिनिधिसभाको पहिलो बैठकमा आज सोमबार दलको तर्फबाट सम्बोधन गर्नुहुँदै सभापति लामिछानेले सो कुरा बताउनुभएको हो । जनताले जानेर वा नजानेर असाध्य राम्रोसँग मतदान गरेको उहाँले चर्चा गर्नुभयो । नयाँलाई अवसर र पुराना दललाई सचेत गराउने गरी मत आएको उहाँको भनाइ छ ।
जनमतअनुसारको सरकार निर्माण भएको बताउँदै गृहमन्त्री लामिछानेले भन्नुभयो, “सरकारको साझा न्यूनतम कार्यक्रम मार्फत जनताको अपेक्षा समाधान गर्नेछौँ, त्यही नै सही उपाय हो ।” जनजीविकाको सवालमा साझा न्यूनतम कार्यक्रमले सम्बोधन गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।