काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने बताउनुभएको छ ।
पार्टी जनसङ्गठन समन्वय संयन्त्रद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित दुई दिने जनसङ्गठन सुदृढीकरण कार्यशाला उद्घाटन समारोह उहाँले आउँदो मङ्गलबार सरकारले विश्वासको मत प्राप्त गर्ने बताउँदै नेता कार्यकर्तालाई ढुक्क रहन आग्रह गर्नुभयो ।
‘वर्तमान सरकारले सहज तरिकाले विश्वासको मत प्राप्त गर्नेछ, तपाईंहरू ढुक्क भएर बस्नुस्, यो एमालेले बनाएको सरकार हो’, पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले भन्नुभयो ।
अध्यक्ष ओलीले साङ्केतिक रूपमा सरकारलाई विश्वासको मत नदिलाउन षड्यन्त्र भइरहेको बताउनुभयो । ‘बहुमत नपुग्दा तालमेल गरेर एकीकृत भएको बहुमतलाई झण्डै दुई तिहाइको स्थितिमा पुर्याउने एमाले हो, एमालेले कसैले नसोचेको अवस्थामा पुर्याउन सक्छ’, उहाँले भन्नुभयो । उहाँले एमाले सरकारमा वा प्रतिपक्षमा जहाँ रहे पनि देश र नागरिकको हितमा दृढतापूर्वक सक्रिय भइरहने बताउनुभयो ।
अध्यक्ष ओलीले जनादेशको सही व्याख्या, सही विश्लेषण र सही सदुपयोग गरेको दाबी गर्नुभयो । ‘निर्वाचनअघि भनेझैँ नयाँ जनादेशबाट सरकारअघि बढाउने योजना निर्वाचनपछि सफलतापूर्वक सम्पन्न गरेका छौँ, यसबाट नेपाली जनता खुसी छन्’, उहाँले भन्नुभयो ।
एमालेमा जनसङ्गठनको असाधारण महत्त्व रहेको उहाँको धारणा थियो । सोमबारसम्म सञ्चालन हुने कार्यशालामा २३ जनवर्गीय सङ्गठनका एक सय ३० पदाधिकारी सहभागी रहेका छन् ।