काठमाडौं-कोरोना भाइरसको संक्रमण पुष्टि भएका प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवले प्रधानमन्त्रीदेखि प्रहरी महानिरीक्षकसम्मलाई भेट गरेको खुलेको छ।
प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवमा बुधबार बेलुका कोरोना संक्रमण पुष्टि भएको हो। उनले पछिल्लो एक हप्तामा ‘भिभिआइपी’ लाई भेटेको खुलेको हो।
मन्त्री यादव बालुवाटारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गर्दै प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठक सहभागी भएका थिए । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरू, गृह सचिव, गृह मन्त्रीका दुई सल्लाहकार, प्रहरी महानिरीक्षक लगायतको सहभागितामा बैठक भएको थियो।
त्यस्तै मन्त्रि यादव धनुषामा पार्टी प्रवेश कार्यक्रममा समेत सहभागिता जनाएका थिए। मन्त्री यादव साउन १८ गते काठमाडौँबाट फर्केर १९ गते स्वाब संकलन गराउँदा बुधबार बेलुका उनको रिपोर्ट पोजेटिभ आएको थियो। रिपोर्ट पोजेटिभ आएपछि उनी मन्त्री निवासमै आइसोलेशनमा छन्। उनले आफ्नो सम्पर्कमा आएकाहरुले जाँच गराउन आग्रह गरेका छन्।