बुटवल । नेपाली कांग्रेसका नेता डा. दामोदर भुसालले माओवादी केन्द्रले सरकारको नेतृत्व दावी गर्नु जनादेश विरुद्ध हुने बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्न राजनतिक सक्रियता देखाएकोप्रति लक्षित गर्दै नेता भुसालले माओवादीले सरकारको नेतृत्व गर्न पाउनु पर्छ भन्नु अप्राकृतिक र जनादेश विपरित रहेको धारणा राख्नुभयो ।
आज तिलोत्तमामा पत्रकारहरुसंग कुरा गर्दै नेपाली कांग्रेसभित्र संस्थापन पक्षका नेता भुसालले हालै सम्पन्न निर्वाचनले माओवादी केन्द्रलाई सरकारको नेतृत्व गर्ने मत नदिएर पहिलो र दोस्रो ठूलो दल भन्दा धेरै कम मत दिएर तेस्रो दल बनाइदिएकाले उसले सरकारको नेतृत्वमा दावी गर्न नकिल्ने तर्क गर्नुभयो ।
‘अल्पमतले बहुमतमाथि राज गर्ने मनसाय त्याग्नु पर्छ,राजनीतिलाई अस्थिर बनाउने सबै खाले अभ्यासहरु रोकिनु पर्छ’–डा.भुसालले भन्नुभयो –‘ माओवादीले ९ लाई १० हुन १ अंकको भुमिका रहन्छ भन्दै थपिएको १ ले बाँकी ९ वटा १ को भुमिकालाई कुल्चिने र नजरअन्दाज गरी कांग्रेससंग ब्ल्याकमेलिङ गरिरहेको छ ।’
लुम्बिनी प्रदेश योजना आयोगका निवर्तमान सदस्य समेत रहेका नेता भुसालले माओवादी केन्द्रले आफ्नो जनमत अनुसारको हैसियतमा सरकारमा सहभागिता वा दुई ठूला दल मध्ये एकलाई निशर्त समर्थन गरेर ५ वर्ष स्थिर सरकार चलाउन दिनुपर्ने तर्क गर्नुभयो ।
उहाँले स्थिर सरकारका लागि नेपाली कांग्रेसको नेतृत्वमा नेपाली कांग्रेस र एमालेको सरकार उत्तम बिकल्प हुनसक्ने बताउनुभयो ।
राजनीतिक दलहरुले सरकार गठनको संवादको प्रारम्भिक विन्दु स्थिर सरकारको सुनिश्चितता कसरी गर्ने र अस्थिर राजनीतिको दलदलबाट नेपाललाई कसरी मुक्त गर्ने भन्नेमा केन्द्रीत हुनुपर्ने भुसालको भनाइ छ ।
‘२०५२ सालमा माओवादी विद्रोह प्रारम्भ हुँदादेखि झण्डै दुई तिहाईको जनादेश प्राप्त केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकार बिघटन हुंदासम्मको राष्ट्रिय परिस्थिति एवम् नेतृत्व तहमा रहेका व्यक्तिहरूको भुमिका र तिनको मनोदशा समेतको निष्पक्ष र वस्तुपरक विष्लेषण गर्दै सरकार गठनको प्रकृयामा अगाडि बढ्नु पर्छ । यसो हुँदा दल र तिनका नेताहरूलाई थप जिम्मेवार हुन बल पुग्नेछ’–भुसालले भन्नुभयो ।
विगतमा माओवादी र एमालेका बीचमा सत्ता सञ्चालनको गोप्य सहमतिले गर्दा विवाद उत्पन्न भई देशको महत्वपूर्ण समय खेर गएको तथ्यलाई नभुली दलहरुले अप्राकृतिक र अदृश्य रुपमा कुनै सहमति गर्न नहुने पनि उहाँले सुझाउनुभयो ।
कांग्रेसको नेतृत्वमा सरकार गठन हुन नसके एमालेको नेतृत्वमा एमाले र माओवादी सहित साना दल एवम् स्वतन्त्र सांसदहरुको सरकार बन्दा सरकार गठनको प्रक्रिया प्राकृतिक हुने र यो स्थायी पनि हुने भुसालको तर्क छ ।