बुटवल । लुम्बिनी प्रदेशका अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रदेशको राजधानी तोकिएकै ठाउँमा स्थापना गर्नु सरकारको दायित्व भएको बताउनुभएको छ ।
राप्ती, भेरी र लुम्बिनीको भावनालाई समेटेर दाङको देउखुरीमा राजधानी राख्ने निर्णय प्रदेश सभाले यसअघि नै गरिसकेकाले सरकारले त्यसलाई कार्यान्वयन गर्न लागेको मन्त्री खड्काले बताउनुभयो ।
रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालयले आज बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खड्काले प्रदेश सभाले बहुमतका साथ पारित गरेको विषयलाई अतिरञ्जित नगर्न सबैमा आग्रह गर्नुभयो ।
मन्त्री खड्काले देउखुरीमा प्रदेश सभाको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिदै विषयगत समिति र संसदीय दलका कार्यालयहरु समेत बनिसकेकाले अब मन्त्रिपरिषद सहित अन्य मन्त्रालय सबै स्थापना हुने बताउनुभयो ।
उहाँले तत्कालका लागि राप्ति प्राविधिक शिक्षालयको भवनमा मुख्यमन्त्री कार्यालय तथा अन्य मन्त्रालयहरुको व्यवस्थापन गर्ने काम भइरहेको बताउनुभयो ।
कार्यक्रममा नेकपा (एमाले) का नवनिर्वाचित प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले जनतासँगको सरोकारको विषयलाई हलुका ढंगले लिएर गठबन्धन सरकारले रातारात सामान सार्ने काम गलत भएको बताउनुभयो ।
प्रदेश सभाले निर्णय गरेपछि राजधानी दाङ जाने कुरामा कसैको विमती नरहे पनि हतारहतारमा मन्त्रालय सार्दा सेवाग्राही र कर्मचारीलाई असर गर्ने उहाँको भनाइ छ ।
“कुनै पनि काम विधि र प्रक्रियाले भएको राम्रो मानिन्छ । छापामार शैलीमा रातारात मन्त्रालयका समान सारेर सरकार किन भाग्नुपर्यो ?” उहाँले प्रश्न गर्नुभयो ।
उहाँले देशको अर्थतन्त्र नै खल्बलिएको अवस्थामा राज्यको करोडौं रकम खर्चेर मुलुकलाई थप आर्थिक भार दिने गरी प्रदेश सरकार अघि बढ्नुले सुशासन माथि नै गम्भिर प्रश्न उठेको बताउँदै यसले जनातामा नराम्रो सन्देश जाने बताउनुभयो ।
“दललाई चित्त दुःदाएर, नयाँ जनप्रतिनिधिको भावनालाई कुल्चेर यस्ता क्रियाकलाप गर्नु गलत हो । राजधानी स्थापना गर्ने कुरा अब आउने सरकार बढि जिम्मेवार हुनेछ, कामचलाउन सरकारले यस्ता काम गर्दा मुख्यमन्त्रीका लागि पनि राम्रो हुँदैन”, उहाँले भन्नुभयो ।