बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर –२ मा प्रतिनिधिसभा तर्फ भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई उछिन्दै नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अग्रता लिनुभएको छ ।
स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई एक सय ७५ मतले पछि पार्दै एमाले उम्मेदवार पौडेल अगाडि लाग्नुभएको हो । पछिल्लो मतपरीणाम अनुसार एमाले उपाध्यक्ष पौडेलले पाँच हजार तीन सय ११ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पौडेल पाँच हजार एक सय ३६ मत प्राप्त गरी दोस्रो स्थानमा झर्नुभएको छ ।
१२ हजार तीन सय २६ मतगणना हुँदासम्म सत्ता गठबन्धनका केशबबहादुर थापा चार हजार ६० मतका साथ तेस्रो स्थानमा रहनुभएको प्रमुख निर्वाचन अधिकृत उद्विर नेपालीले जानकारी दिनुभयो ।
प्रदेशसभामा दुई क्षेत्रमै एमालेका उम्मेदवार अगाडि हुनुहुन्छ । प्रदेशसभातर्फ १ मा लिला गिरी र २ मा भोजप्रसाद श्रेष्ठ अगाडि रहनुभएको छ ।
यसैगरी गठबन्धन दलको समर्थन प्राप्त गरेका राष्ट्रिय जनमुक्ति पार्टीका केशब सुर्यवंशीले चार हजार ६० मत प्राप्त गर्नुभएको छ ।