बुटवल । तीन निर्वाचन क्षेत्र रहेको चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि आएको छ। क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले नेपाली कांग्रेसका विश्व पौडेललाई १२ सयभन्दा बढी मतले पछि पार्नुभएको छ ।
पछिल्लो परिणामअनुसार घन्टी चिह्न लिएर चुनाव लडिरहेका स्वतन्त्र पार्टीका हरि ढकालले ५०९८ मत र कांग्रेसका विश्व पौडेलले ३८८४ मत ल्याउनुभएको छ । उहाँहरूबीच १२१४ मतको अन्तर छ।
यहाँ नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे तेस्रो स्थानमा हुनुहन्छ । उहाँले ३८८० मत ल्याउनुभएको छ। स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने नै चुनावी मैदानमा होमिएको चितवन- २ मा उहाँले नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई उछिन्नुभएको छ । लामिछाने अहिले दोस्रो स्थानमा हुनुहुन्छ ।
अहिलेसम्म ७०४१ मत गन्दा रवि लामिछानेले २२२७ मत ल्याउनुभएको छ भने उमेश श्रेष्ठको मत २०३६ मत छ। यहाँ नेकपा एमालेका कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायमै राख्नुभएको छ । उहाँले २३३१ मत ल्याउनुभएको छ ।
त्यस्तै चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बराल तेस्रो स्थानमा पुग्नुभएको छ । उहाँले २७२० मत ल्याउनुभएको छ ।
पछिल्लो परिणामअनुसार यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डेले अग्रता लिनुभएको छ । उहाँले ३०८७ मत प्राप्त गर्नुभएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छाडेको चितवन-३ मा माओवादी उम्मेदवार भोजराज अधिकारी दोस्रो स्थानमा हुनुहुन्छ । उहाँको २८४१ मत छ ।