बुटवल। पूर्वअर्थमन्त्री एवम नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले मतदान गर्नुभएको छ । रुपन्देही क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले बिहान साढे १० बजे मतदान गर्नुभएको हो ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ८ स्थित पश्चिमाञ्चल सडक डिभिजन कार्यालयको मतदान केन्द्रबाट मतदान गरेपछि पत्रकारसँग कुरा गर्दै नेता पौडेलले अहिलेको निर्वाचनले मुलुकलाई राजनीतिक स्थायीत्वतर्फ लैजाने बताउनुभयो ।
विगतका तीता मिठा कुराहरुलाई बिर्साउँदै मुलुकलाई समृद्धितर्फको बाटोमा लैजान यो निर्वाचन महत्वपूर्ण हुने उहाँको भनाइ छ ।
पौडेलले मतदान शान्तिपूर्ण भइरहेको बताउनुभयो । पौडेलसँग राष्ट्रिय जनमुक्ति पार्टीका केशब थापाले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । रुपन्देही क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनको उम्मेदवार नहुँदा गठबन्धनले थापालाई सघाएको छ । यो मतदान केन्द्रमा ५ हजार ६०० मतदाता रहेका मतदान अधिकृत रामप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।