भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको मोतिपुरमा औद्योगिक क्षेत्रको क्षेत्रफल घटाउन छलफल शुरु गरेको बताउनुभएको छ । औद्योगिक क्षेत्र निर्माण गर्दा त्यहाँ बसोबास गर्दै आएका परिवारहरु व्यवस्थापनमा समस्या हुने भएकाले क्षेत्रफल घटाइने उहाँको भनाइ छ ।
रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य खाँणले मंगलबार जिल्लाको फर्साटिकरमा आयोजित चुनावी सभामा बोल्दै औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर स्मार्ट निर्माण गरिने र अहिले बसोबास भएकालाई घरबिहीन हुन नदिने बताएका हुन् ।
साढे दुई महिनाअघि बुटवल उपमहानगर पालिकामा औद्योगिक क्षेत्रको पुनः नक्सांकन गरेर क्षेत्रफल घटाउन औपचारिक निर्णय भइसको जनाउँदै उहाँले कुनैपनि व्यक्तिको घरबास नजाने गरी काम अघि बढाउने बताउनुभयो ।
रुपन्देही–३ (२) का उम्मेदवार नेपाली काँग्रेसका नेता रामचन्द्र ढकालले रुपन्देहीको विकासमा प्रतिबद्ध रहेको बताउनुभयो ।
रुपन्देही–३(१) का उम्मेदवार सन्तोषकुमार पाण्डेयले पहिलो पटक जिल्लाले राष्ट्रिय नेता प्राप्त गरेकाले गठबन्धनका उम्मेदवार बिजयी गराउन अनुरोध गर्नुभयो ।