बुटवल । लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा रुपन्देही २(२) बाट प्रदेशसभा सदस्यका उम्मेदवार भोजप्रसाद श्रेष्ठले काँग्रेस नेता कार्यकर्तालाई आफ्नो मत खेर नफाल्न सुझाब दिनुभएको छ ।
आफ्नो निर्वाचन क्षेत्रमा काँग्रेसको तर्फबाट उम्मेदवार नभएकाले मत खेर नफाल्न सुझाव दिँदै उहाँले काँग्रेसमै रहे पनि सूर्यमा मतदान गर्न आग्रह गर्नुभयो ।
’नेपाली काँग्रेसका मित्रहरु यो क्षेत्रमा तपाईका उम्मेदवार छैनन् त्यसैले तपाईहरु काँग्रेसमै बस्नुस तर भोट सूर्यमा हाल्नुस, आफ्नो मत खेर नफाल्नुस।’–नेता श्रेष्ठले भन्नुभयो । कतिपय अवस्थामा नेकपा एमाले र नेपाली काँग्रेस सँग–सँगै लोकतन्त्र प्राप्तिका लागि लडेको स्मरण गराउँदै उहाँले आफ्नो मत खेर नफाल्नका लागि सूर्यमा मतदान गर्न आग्रह गर्नुभयो ।
आगामी मंसिर–४ को निर्वाचनका लागि घरदैलो तथा जनतासँग भेटघाटमा बोल्दै श्रेष्ठले विगतमा भएका कमजोरीहरुलाई समेत सुधार गरेर एमाले अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । मुलुकको समृद्धि र परिवर्तनको नेतृत्व एमालेबाटै सम्भब रहेको बताउँदै उहाँले मंसिर ४ मा एमाले छनोट गर्न मतदातालाई अनुरोध गर्नुभयो । .