भैरहवा । आसन्न निर्वाचनमा चुनाव नजिकिदै गर्दा टोलटोलमा पुग्ने नेतालाई भोट दिने की दशकौंदेखि भैरहवाको विकासको लागि काम गरेका नेतालाई जिताउने भनेर सोच्ने बेला आएको पूर्व गृहमन्त्री तथा राप्रपा केन्द्रीय सल्लाहकार समितिका संयोजक निरञ्जन थापाले बताउनुभएको छ ।
‘भैरहवामै जन्मिएका रैथाने नेता दीपक बोहरा, भैरहवाबासी सबैले दीपक दाइ भनेर बोलाउने मान्छेलाई जिताउने की चुनावको बेला दलबलसहित भेट्न आउने, घर बुटवलतिर चुनावको लागि डेरा भैरहवा बनाएका नेतालाई जिताउने हो तपाईहरुको हातमा छ ’, उहाँले भन्नुभयो ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ स्थित बैंककलोनीमा आयोजित कार्यक्रममा एमाले, राप्रपा र जसपाको तीनदलीय तालमेलबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार रहेका दीपक बोहराले भैरहवाको विकासको लागि आफूले ३० को दशकदेखि धेरै काम गरेको बताउनुभयो ।
भैरहवा आफ्नो परिचय भएको बताउँदै उहाँले भन्नुभयो, ‘मैले जित्नु भनेको भैरहवाको जीत हो । किनकी म भैरहवाकै, तपाईहरुकै भाइ छोरा हो । ’
कार्यक्रममा एमाले नेता डा. रामप्रसाद बस्यालले तीनदलीय तालमेलका साझा उम्मेदवार बोहरालाई प्रतिनिधिसभा सदस्यमा तथा महेन्द्र यादवलाई प्रदेशसभा सदस्यमा जिताउन सबैको सक्रियता जरुरी रहेको बताउनुभयो ।
सो अवसरमा प्रदेश सभाका उम्मेदवार महेन्द्र यादवले समग्र भैरहवाको समृद्धि र विकासको लागि पनि प्रतिनिधिसभामा हलो र प्रदेशमा छाता चुनाव चिन्हमा मतदान गर्नुपर्ने बताउनुभयो ।
सोही कार्यक्रममा एमालेका अर्का नेता तथा सिद्धार्थनगरका पूर्व नगरप्रमुख हरि प्रसाद अधिकारीले आफ्नो पालामा सिद्धार्थनगरको दीर्घकालिन योजनासहित धेरै काम अगाडि बढाएको बताउँदै ती सबै काम पुरा गर्न पनि तीनदलीय साझा उम्मेदवारको जीत आवश्यक रहेकामा जोड दिनुभयो ।
कार्यक्रममा केही दिन अगाडि नेपाली कांग्रेस प्रवेश गरेका भनिएका एमालेका पुराना नेता अस्गर अलीले आफु एमालेमै रहेको बताउँदै गृहमन्त्री सहभागी गाउँटोलको एक कार्यक्रममा पुगेका बेला कांग्रेस प्रवेश गरेको भनी हल्ला फैलाइएको बताउनुभयो । उहाँले आफू एमालेमै रहेको बताउनुभयो ।