पृष्ठभूमि :
हामीले नेपाल कानून समाजको आयोजनामा २०७९ कार्तिक २३ गते बुटवलको सुविधा सम्पन्न होटल न्यूइरामा भएको निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवाला बिचको भूमिका विषयक समतलीय अन्तरक्रिया कार्यक्रममा भाग लियौं ।
यस कार्यक्रममा आचारसंहितामा नागरिक समाजको दायित्व विषयमा सरोकारवालासँग छलफल भयो । प्रश्नोत्तर कार्यक्रम चल्यो । यस गोष्ठीमा आचारसंहिताको सैद्धान्तिक अवधारणा, निर्वाचन आचारसंहिता किन ?आचारसंहिता निर्माणका आधार, आचारसंहिता कसकसलाई लागू हुन्छ ? निर्वाचन आयोग ऐन २०७३, निर्वाचन कसुर तथा सजाय ऐन २०७३, पदाधिकारीले पालन गर्नुपर्ने आचारण, निर्वाचन आचारसंहिता २०७९, राजनीतिक दल उमेदवार, दलको भातृ संगठन, तथा सम्बन्धित व्यक्तिले पालन गर्नुपर्ने आचरण, मतदानको दिन पालन गनुृपर्ने आचारण, कर्मचारीले पालन गर्नुपर्ने आचरण, निर्वाचन अधिकृतको कर्तव्य, आचारसंहिता कार्यान्वयन अनुगमन, अनुगमन संयन्त्र,विभिन्न तहका अनुगमन समितिहरु, तिनको काम कर्तव्य अधिकार, निर्वाचन पर्यवेक्षण, तिनीहरुको आचरण, सरोकारवालासँग आयोगको अपेक्षा, निर्वाचन प्रचारप्रसार सम्बन्धी आचारसंहिता, आर्थिक श्रोत खर्चको नियमन, आदि विषयमा महत्वपूर्ण छलफल भयो । आज मैले त्यही छलफलको आधारमा आचारसंहिताको अर्थ, आचारसंहिताको सैद्धान्तिक अवधारणा, निर्वाचन आचारसंहिता किन ?आचारसंहिता निर्माणका आधार, आचारसंहिता कसकसलाई लागू हुन्छ ? भन्ने विषमा मात्र तयार पारेको छोटो अभिलेख प्रस्तुत गरेको छु ।
आचार संहिताको अर्थ :
आचारसंहिता शब्दको अर्थ आचरणका लागि बनाएकोे नियमसंग्रह हो । आचार आ+चर्+अ प्रकृति प्रत्यय लागेर बनेको हो । संहिता सं+हित+अ प्रकृति प्रत्यय लागेर बनेको हो । विशेष हित गर्ने आचारणको संग्रह नै आचारसंहिता हो । यसलाई अङग्रेजीमा code of conductभनिन्छ ।
शास्त्रीय अर्थमा आचरण पालन गराउने गुरुलाई आचार्य भनिन्थ्यो । पछि विश्व विद्यालयले यसलाई स्नातकोत्तर तहको रुपमा मान्न थाल्यो । त्यसैले नियम पालन गराउनेहरु सबै आचार्य हुन् भन्दा हुन्छ । हामी नागरिक सुमाज, सरकारका जिम्मेवार निकाय, राजनैतिक दलका नेता तथा कार्यकर्ताहरु सबै जिम्मेवार हुनु पर्छ । सबैको सामुहिक दायित्व र कर्तव्यबोधबाट निर्वाचनमा सुधार आउन सक्छ ।
आचार संहिता भनेको के हो ?
निर्वाचन आयोगले प्रदेशसभा अथवा प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आचारसंहिता तोकेको छ । उसले आचारसंहिता के हो ? र यसको सैद्धान्तिक अवधारणा कस्तो छ भन्ने विषयमा प्रष्ट पारेको छ । उसको भनाइमा आचारण वा व्यवहारको परिस्कृत नैतिक नियम प्रतिपादन गरी लेखिएको शास्त्र वा विद्यालाई आचारसंहिता हो भनेको छ । आचारसंहिता नैतिक र कानुनी बन्धन हो । निर्वाचन आचारसंहिता सार्वजनिक अधिकारी राजनीतिक दल, निजी क्षेत्र, व्यक्ति वा संस्थाको व्यवहार नियन्त्रण गर्ने लिखित नियमहरुको संगालो हो । यो समाजमा हुने अनैतिक आचरण वा व्यवहार रोक्न र संबोधन गर्न तयार पारिएको दस्ताबेज हो । यो व्यक्ति संस्था वा निकायले पालन गर्नुपर्ने नियमको मानक हो । यो निर्वाचनको स्वच्छता, निष्पक्षता, र विश्वासनीयता कायम गर्न निर्वाचन आयोगले जारी गरेको संहिता वा दिशा निर्देष हो ।
निर्वाचन आचारसंहिता किन ?
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरण्मा निर्वाचन सम्पन्न गर्नको लागि निर्वाचन आचारसंहिता आवश्यक छ । निर्वाचन आचारसंहिता सबै पक्षको लागि समान खेल मैदान हो । आचारसंहिताको पालनले निर्वाचनमा आम मतदाताको विश्वास बढाउँछ । यसले डर, धाक, धम्की, अपराध रोक्न मद्दत गर्छ । यसले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वासनीय एवं मितव्ययी निर्वाचन गर्न सहयोग गर्छ । यसले निर्वाचन परिणाम विश्वासनीय र सर्वस्वीकार्य बनाउँछ ।
आचारसंहिता निर्माणको आधार :
नेपालको संविधानको प्रस्तवनामा जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, बालिक मताधिकार, आवधिक निर्वाचन समेतका लोकतान्त्रिक मूल्य मान्यता प्रतिबद्ध रही समृद्ध र शान्तिपूर्ण राष्ट्र बनाउने मूल ध्येय हो । यो नागरिकको सम्प्रभूताको संरक्षण गर्नको लागि हो । नेपालको संविधान २०७२ को धारा २०४६ ले निर्वाचन आयोगलाई निर्वाचनको सञ्चालन, रेखदेख निर्देशन र नियन्त्रण गर्ने अधिकार प्रदान गरेको छ । निर्वाचन आयोग ऐन २०७३ को दफा २२ बमोजिम निर्वाचनमा स्वच्छता,निष्पक्षता, पारदर्शिता, तथा भयमुक्त वातावरण, कायम राख्न आचारसंहिता बनाउन सक्ने र त्यसको पालना गर्न सबैपक्ष कर्तव्य पनि हो ।
आचारसंहिता कसकसलाई लागू हुन्छ ?
आचारसंहिता नेपाल सरकारका मन्त्रीहरु, प्रदेश सरकारका मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारीहरु, प्रदेश सरकारका निकायका पदाधिकारीहरु, स्थानीय कार्यपालिका र सोका सदस्यहरु, संघ प्रदेश र स्थानीय तहका कर्मचारीहरु, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारीहरु, राजनीतिक दल तथा भातृसंगठनका सदस्यहरु, उमेदवार तथा उमेदवारको प्रतिनिधि, मत गणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, अनुगमनकर्ता तथा पर्यवेक्षहरु, सञ्चारकर्मीहरु, निजी तथा गैरसरकारी संस्था र त्यसका कर्मचारीहरु, शिक्षक प्राध्यापक तथा कर्मचारीहरु, विकास साझेदार संस्थाका सदस्य तथा कर्मचारीहरु, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना, तथा परियोजनाका कर्मचारीहरु, मतदाता शिक्षा प्रदान गर्ने कर्मचारीहरु, निजी तथा सरकारी वित्तीय संस्थाका कर्मचारीहरु, व्यापारिक तथा औद्योगिक क्षेत्रका पदाधिकारी तथा कर्मचारीहरु सबै पर्दछन् । सबैले आचारसंहिता पालन गरेमा स्वतन्त्र, भयरहित र निष्पक्ष निर्वाचन हुन सम्भव छ ।
अन्त्यमाहामीले आचरण पालन गर्न सक्यौं भने हाम्रो निर्वाचन स्वतन्त्र र निष्पक्ष हुन्छ । त्यो नागरिक समाजको हातमा छ । राजनीतिक दलका नेता तथा कार्यकर्ताको हातमा छ । यो वर्ष निर्वाचन आयोग विशेष कडाइपूर्वक उपस्थित भएको हु्नाले आम जनतामा यसको सकारातमक प्रभाव पर्दैछ । जनतामा निराशाका ठाउँमा आशा जगाएको छ । लोकतन्त्रको आभास भएको छ । स्वच्छ निर्वाचनको आधार नाागरिक समाज हो । नागरिक समाजले आआफ्नो आस्थामा भोट हाले पनि आचारसंहिता पालन गर्न सक्नु पर्छ । निर्वाचन आयोगले मात्र एक्लै केही गर्न सक्दैन । यसर्थ अबका दिनहरुमा हामीले निर्वाचन आचारसंहितको विषयमा गम्भीर हुनै पर्छ ।
श्रोत सन्दर्भ :
नेपालको संविधान २०७२
निर्वाचन आयोगको आचारसंहिता
नेपाल कानुनी समाजको दस्ताबेज