बुटवल । आसन्न मंसिर ४ निर्वाचनमा गठबन्धनका तर्फबाट रुपन्देही क्षेत्र नं २ (२) बाट प्रदेश सभा सदस्यका उम्मेदवार वामदेव क्षेत्रीले विकासका लागि गठबन्धनको सरकार आवश्यक रहेको बताउनुभएको छ ।
स्थानीय तहमा गठबन्धनको सरकार रहेकाले प्रदेश र संघीय सरकार पनि गठबन्धनकै बन्न आवश्यक रहेको उहाँको भनाइ छ । आज आयोजित बृहत महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार क्षेत्रीले विकासका काममा झुटो आश्वासन बाँडन नहुने बताउनुभयो ।
संविधानको रक्षा र प्रतिगमन परास्त गर्न गठबन्धन बनेको औल्याउँदै उहाँले आसन्न निर्वाचनमा गठबन्धन भन्दा बाहिरको दलहरुलाई म्याण्डेट दिइएमा उनीहरुले विकास गर्न नसक्ने दाबी गर्नुभयो ।
केन्द्र सरकारको नीति र योजना कार्यान्वयन गर्ने जिम्मा स्थानीय तहको सरकारको रहेकाले फरक फरक दलको सरकार आएमा काम गर्न नसक्ने उहाँको धारणा थियो । त्यसैले यस क्षेत्रमा आफुहरुलाई जनताले जिताउनुको विकल्प नभएको बताउनुभयो ।