बुटवल । सत्ता गठबन्धन दलका तर्फबाट रुपन्देही क्षेत्र नं. २ (१) का उम्मेदवार दीर्घबहादुर केसीले मजदुरका समस्या समाधानमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेश समितिले आज बुटवलमा आयोजना गरेको योगदानमा आधारित सामाजिक सुरक्षा सम्बन्धि कार्यशाला गोष्ठिमा बोल्दै उहाँले मजदुरको हितमा काम गर्ने बताउनुभयो ।
निर्वाचनमा जित हासिल गरेमा संसदमा मजदुरको पक्षमा ऐन कानुन बनाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले अहिले पनि असंगठित क्षेत्र र स्वरोजगार मजदुरका धेरै समस्या रहेको बताउँदै उनीहरुको समस्या समाधानका लागि ठोस योजना बनाउने उल्लेख गर्नुभयो ।
कार्यक्रममा आफूहरुका हक अधिकार राज्यबाट सम्बोधन गराउन मजदुर उम्मेद्वारहरुलाई जिताउन मजदुर नेताहरुले आग्रह गरेका थिए ।
नेपाल ट्रेड युनियन काँग्रेसका प्रदेश सल्लाहकार केसीलाई नेपाली काँग्रेसले उम्मेद्वार बनाएको हो । यसै क्षेत्रबाट ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य अयोध्याप्रसाद यादवलाई समानुपातिक सूचीमा राखेको छ ।
कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादवले मजदुरका नेताहरुले जीते मात्रै मजदुका मुद्धा उठाउन हुने र नीति निर्माणमा पनि मजदुर अनुकुल हुन सक्ने भएकाले यस्तो विषयमा दल नभनेर मजदुर उम्मेद्वारलाई जिताउन आग्रह गर्नुभयो ।
नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनीधि सभा समानुपातिक उम्मेद्वार अयोध्याप्रसाद यादवले योगदानमा आधारित सामाजिक सुरक्षा कोष परिचालनको लागि सरकारले ठोस कार्यक्रम ल्याउन नसक्दा प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउँदै त्यसको लागि मजदुर नेताहरुलाई जिताउनुपर्ने भनाइ राख्नुभयो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले मजदुरका समस्या समाधानका लागि स्थानीय तहबाट के गर्न सकिन्छ उपयुक्त सुझाव दिन आग्रह गर्नुभयो ।