बुटवल । नेपाल कम्युनिष्ट पार्टी एमाले पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ठाकुर गैरेले सबैको साझा प्रतिनिधिका रुपमा निर्वाचनमा उत्रिएको बताउनुभएको छ । पाल्पाली जनताले विकास र समृद्धि चाहेको बताउँदै उहाँले त्यसको नेतृत्वका लागि आफु तयार रहेको उल्लेख गर्नुभयो ।
बुधबार साँझ बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै युवा नेता गैरेले सहि नेतृत्व नहुँदा पाल्पा विकासमा पछाडि परेको जनाउँदै कृषि, पर्यटन, स्वास्थ्य र शिक्षाको विकासका लागि एमाले उमेदवारको जित आवश्यक रहेको बताउनुभयो ।
“म पुरानोको निरन्तरता होइन । जिल्लाको मुहार फेर्न पहिलो पटक उमेदवारी दिएको छु । मलाई विश्वास छ जनताले साथ दिनुहुन्छ”, नेता गैरे भन्नुहुन्छ ।
उहाँले गुल्मी, रुपन्देही, स्याङजा लगायतका जिल्लासँग पाल्पालाई जोड्ने मुल सडकको स्तरोन्नती गरी धार्मिक र पर्यटकीय स्थलहरुसाग जोडेर जिल्लाको विकास गर्ने आफ्नो योजना सुनाउनुभयो । बेरोजगारी समस्या समाधानका लागि उद्यमशीलतामा विशेष जोड दिने उहाँको भनाइ छ ।
“पाल्पाली जनताको मुख्य चासो रहेको सिद्धबाबा सडक निर्माणको प्रक्रिया गतवर्षदेखि शुरु भएको छ । अब यो सडक निर्माणको अगुवाइ मैले गर्छु”, गैरेले भन्नुभयो ।
एउटै व्यक्ति पटकपटक निर्वाचित हुने तर आफ्नो क्षेत्रको विकासमा ध्यान नदिने परिपार्टीले पाल्पा क्षेत्र नं २ पछाडि परेको बताउँदै उहाँले अब यो क्षेत्रमा पुरानालाई निरन्तरता नभइ नयाँ नेतृत्वलाई जिताउन आग्रह गर्नुभयो ।
“पाल्पाको विकास चाहानेले अब नयाँ नेतृत्वलाई साथ दिनुहुने छ भन्ने विश्वास छ । । एउटै व्यक्ति धेरै पटक उठ्ने तर आफ््नो क्षेत्रको विकासमा ध्यान नदिँदा मतदातामाथि अन्याय भएको छ । अब यस्तो हुनुहुँदैन”, उहाँले भन्नुभयो ।