रुपन्देही । पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक संकटप्रति चिन्ता व्यक्त गर्नुभएको छ । सबै सूचकांकहरु सकारात्मक नरहेको बताउँदै उहाँले महङ्गी, बेरोजगार र तीब्र आर्थिक संकटले कतैपनि मन बुझाउने ठाउँ नरहेको उल्लेख गर्नुभयो ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको समीक्षासहित प्रकाशित गरेकोे तथ्यांकमा सबै आर्थिक सूचकांकहरु नरात्मक देखिएको बताउँदै उहाँँले मुलुक निराशाजनक स्थितीमा पुगेको टिप्पणी गर्नुभयो ।
पछिल्लो तथ्याङ्क अनुसार मुलुकको मुद्रास्फिीति ८ दशमलव ६४ प्रतिशत छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ३ दशमलव ४९ रहेको थियो । चरम मुल्यवृद्धि बेरोजगारीका कारण युवाहरु विदेश पलायन हुने दर अस्वभाविक वृद्धि भएको भन्दै पौडेलले चिन्ता व्यक्त गर्नुभयो । वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिनेको संख्यामा १६९ दशमलव ९ प्रतिशतले वृद्धि हुनु मुलुकका लागि राम्रो सन्देश नभएको उहाँँको भनाइ छ ।
नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पौडेलले गठबन्धन नेतृत्वको सरकारले मुलुकलाई सही दिशामा हिंडाउन नसक्दा अकल्पनीय ढँगले मुलुकको स्थितिले बाटो बिराएको उनले उनले टिप्पणी गर्नुभयो ।
रुपन्देही क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेका पौडेलले आज सैनामैना नगरपालिकामा घरदैलो तथा जनतासँग भेटघाटका क्रममा मुलुक डरलाग्दो आर्थिक संकटमा फसेको बताउनुभयो ।