देवदह । नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले पार्टीको पहलमा देवदहमा लुम्विनी बौद्ध विश्वविद्यालय स्थापनाका लागि प्रक्रिया शुरु गरेको बताउनुभएको छ ।
बौद्ध विश्व विद्यालयको भवन निर्माणका लागि एमाले सरकारको पालामा सय बिघा जग्गा व्यवस्थापन भइसकेको र अब भवनहरु बनाएर पढाइ सञ्चालनका लागि पार्टीले पहिलो प्राथमिकतामा राखेको उहाँले जानकारी गराउनुभयो ।
क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका विश्वकर्माले देवदहमा बौद्ध विश्वविद्यालय सञ्चालनमा आउंदा सयौं जनालाई रोजगारी सिर्जना हुने र यसले शिक्षाको क्षेत्रमा रुपन्दही अब्बल सावित हुने बताउनुभयो ।
उम्मेदवार विश्वकर्माले सुकुम्वासी र अव्यवस्थित बसोवासी समस्या समाधान गर्न एमाले सरकारले कानुन निर्माण गरी काम गरिरहेको अवस्थामा सरकार ढालिएपछि लालपुर्जा दिन नसकिएको भन्दै अब पहिलो काम लालपुर्जा वितरण हुने स्पष्ट पार्नुभयो ।
देवदह नगरपालिका वडा नंं ३,८ र ९ मा एमाले, राप्रपा र जसपाको संयुक्त निर्वाचन प्रचार प्रसार कार्यालय उदघाटन तथा घरदैलो कार्यक्रममा बोल्दै विश्वकर्माले क्षेत्र नम्वर १ मा विकासको रेखांकन भइसकेको र यसलाई पूर्णता दिन एमाले ,राप्रपा जसपाको जित आवश्यक भएको बताउनुभयो ।
घरदैलोका क्रममा क्षेत्र नम्वर १(१) प्रदेश सभा सदस्यका उम्मेदवार राप्रपा नेता आशिष चौधरीले जनताको सल्लाह सुझाव लिएर यस क्षेत्रको विकास गर्ने बताउनुभयो ।
यसैबीच रुपन्देही १ (२) मा एमाले राप्रपा जसपाको साझा उम्मेदवार दधिराम न्यौपानेले तिलोत्तमाको वडा नं ८ र १२ मा घरदैलो गरी विकास र समृद्धिका लागि एमाले राप्रपा र जसपा गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभएको छ ।
उम्मेदवार न्यौपानेले मंसिर ४ को चुनाव राष्ट्रियता जोगाएर देश समृद्ध बनाउने र विदेशीको इशारामा चल्ने लम्पसारवादी गठबन्धनबीचको लडाई भएकाले एमाले राप्रपा जसपा गठबन्धनको जित अपरिहार्य रहेको उहाँको भनाइ छ ।