बुटवल । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न विकास आयोजनाहरुबारे भ्रम फैलाउनेबाट सचेत रहन रुपन्देहीबासीलाई आग्रह गर्नुभएको छ ।
ठूला तथा महत्वकांक्षी योजनाहरुको सुरुवात गर्ने मात्र नभई ती योजनाहरुबाट प्रभावित जनताको व्यवस्थापनको जिम्मा समेत आफूले लिने भएकाले चिन्ता नलिन अनुरोध गर्नुभयो ।
नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पौडेलले विकास विरोधी र अफवाह फैलाउनेहरुका नियोजित भ्रममा नपर्न अनुरोध गर्दै विकास योजनाबाट विस्थापित वा प्रभावित हुनेहरुलाइै उचित प्रबन्ध नहुँदा सम्म काम सुरु नहुने स्पष्ट पार्नुभयो ।
रुपन्देहीमा सुरु गरिएका विभिन्न ठूला योजनाहरुबाट विस्थापित तथा प्रभावित हुने जनतालाई आवश्यकताअनुसार सुरक्षित र व्यवस्थित बसोबासका लागि आफू गम्भीर रहेको उहाँले बताउनुभयो ।
रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले आज बुटवल उपमहानगरको वडानम्बर ११ तथा तिलोत्तमा नगरपालिकाको विभिन्न वडामा घरदैलो गर्दै यहाँको विकाससँगै बस्ती व्यवस्थापनको विषयमा आफू सचेत र गम्भीर रहेको उल्लेख गर्नभयो ।
विशेषगरी बुटवलमा सुरु गरिएका महत्वकांक्षी विकास योजना तिनाउ–दानव करिडोरका जनतालाई विभिन्न ढंगबाट आतंकित पार्ने काम भएकोप्रति चिन्ता व्यक्त गर्दै पौडेलले करिडोरका नाममा कुनै पनि जनतालाई घरबारविहीन नबनाइने स्पष्ट पार्नुभयो ।
करिडोर क्षेत्रमा पर्ने घरपरिवारलाई त्यहाँबाट अन्यत्र व्यवस्थापन गर्नुपर्ने अवस्थामा समेत बुटवलभित्रै अहिलेकोभन्दा थप व्यवस्थित र विकास पूर्वाधारले सम्पन्न स्थानमा जनताको इच्छाअनुसार नै व्यवस्थापन गरिने उहाँको भनाइ छ । यसैगरी मोतिपुर औद्योगिक क्षेत्रका प्रभावित जनतालाई समेत व्यवस्थापन गरेर मात्रै काम अघि बढ्ने उहाँले स्पष्ट पार्नुभयो ।
सिंगो रुपन्देहीलाई बिकासको रोलमोडलको रुपमा अगाडि बढाउने योजना अनुसार काम भएको उहाँको भनाइ छ र
रुपन्देहीमा भौतिक पूर्वाधार तथा मानवीय विकासका लागि विगतदेखि काम गर्दै आएको स्मरण गराउँदै उहाँले विकासमा कसैले पनि राजनीति गर्नै नहुने बताउनुभयो
साझा मानसिकता र साझा प्रयासले मात्रै विकासमा फड्को मार्ने काम सम्भव भएको उल्लेख गर्दै पौडेलले विकास विरोधीहरुले फैलाएका अफवाहको भ्रममा नपर्न जनतासमक्ष आग्रह गर्नुभयो ।
भौतिक पूर्वाधारको बिकासँगै यहाँको मानवीय विकास तथा रोजगार सिर्जना गरी अबको यात्रा आर्थिक समृद्धितर्फ रहेको उहाँले बताउनुभयो । यहाँ बन्दै गरेका औद्योगिक क्षेत्रबाट उत्पादन वृद्धिसँगै हजारौं युवाहरुलाई रोजगार सिर्जना गर्न सकिने उहाँको भनाइ छ ।
यसैगरी कालिगण्डकी–तिनाउ डाइभर्सन गरी हजारौं विगाह जमिनलाई सिंचित गरी कृषि उत्पादनमा वृद्धि, जलविद्युत आयोजना निर्माण, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुको विकास आफ्नो प्राथमिकतामा रहेको नेता पौडेलले बताउनुभयो ।
आगामी मंसिर ४ गते हुने निर्वाचनपछि मुलुकको नेतृत्व जनताले नेकपा एमालेलाई सुम्पिने बताउँदै उहाँले आगामी बिकास योजनाका बारेमा आफ्नो ध्यान केन्द्रित रहेको बताउनुभयो । मुलुकको बिकास र समृद्धि एमाले पार्टीबाट मात्रै सम्भव भएको दाबी गर्दै उहाँले आउने निर्वाचनमा सूर्यमा मतदान गर्नका लागि जनतासमक्ष आग्रह गर्नुभयो ।