रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचनमा पाँच दलीय गठबन्धन अगाडि रहेको बताउनुभएको छ ।
गठबन्धनबाट पाएको सूचना अनुसार हालसम्मको स्थितिमा पाँच दलीय गठबन्धन १ सय ३० ठाउँमा अग्रस्थानमा रहेको उहाँको दाबी छ । त्यसपछि एमाले र अन्य दलहरुको अग्रता रहेको उहाँले बताउनुभयो ।
नेकपा एकीकृत समाजवादी रुपन्देही क्षेत्र नम्बर ३ निर्वाचन परिचालन कमिटीले आज भैरहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै रुपन्देही–३ बाट प्रतिनिधिसभा उम्मेदवार समेत रहेका कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य खाँणले उक्त कुरा बताउनुभएको हो ।
यो अग्रता मेहनत गर्दै जाँदा अझै बढ्ने र गठबन्धनले अत्याधिक बहुमत ल्याउने उहाँको दाबी छ । । गृहमन्त्री खाणले माधव नेपाल प्रधानमन्त्री र आफू सिंचाइमन्त्री भएको बेला रुपन्देहीमा बिकासका आयोजना अगाडि बढेको पनि बताउनुभयो ।
उहाँले सहमती र सहकार्यका साथ गठबन्धनलाई अगाडि बढाएर मुलुुकलाई आगामी पाँच वर्षभित्र आर्थिक रुपमा पनि बिकसित बनाइने उल्लेख गर्नुभयो ।
अर्को प्रशंगमा उहाँले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई शान्तिपूर्ण मतदानमा सहभागी गराउन उक्त समूह र सरकारबीच निरन्तर छलफल भैरहेको बताउनुभयो ।
राजनीतिक मूलधारमा ल्याउन सरकार र उक्त समूहबीच द्विपक्षीय वार्ता भएको जानकारी दिँदै उहाँले नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग २ दिनअघि भैरहवामा भएको वार्तामा कारागारमा रहेका बन्दीलाई प्रक्रिया मिलाएर छाड्ने, मुद्दा फिर्ता लिने लगायतका विषयमा छलफल भएको बताउनुभयो ।
गृहमन्त्री खाँणले नेकपाका नेता कार्यकर्तासमेत निर्वाचनमा भाग लिन खोजे प्रशासनले धरपकड नगर्ने र अन्य नागरिकसरह मतदान गर्ने अवसर दिने प्रस्ताव गरेको उल्लेख गर्नुभयो ।