रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनपछि सातै प्रदेशमा गठबन्धन सरकार बन्ने बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्रले आज भैरहवामा आयोजना गरेको बृहत् कार्यकता भेलामा बोल्दै रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका खाँणले देशको विकासका लागि संघ सहितसातै प्रदेशमा पाँच दलीय गठबन्धनले सरकार बनाउने बताउनुभयो ।
उहाँले लामो संघर्ष पश्चात् प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप मजबुत बनाउँदै नागरिकको अवस्था परिवर्तन गर्न पाँच दलीय गठबन्धन बनेको र यसको जीत अत्यावश्यक रहेको औँल्याउनुभयो ।
एमाले नेतृत्वमा बनेको चुनावी गठबन्धन पश्चगामी रहेको बताउँदै यो गठबन्धनले जितेमा प्राप्त उपलब्धि उल्टन सक्नेतर्फ सचेत हुनुुपर्नेमा जोड दिनुभयो ।
बेलाबेलामा नेपाली कांग्रेस र बामपन्थी शक्ति मिलेर नेपालमा ठूलाठूला राजनीतिक परिवर्तन भएको उहँले उल्लेख गर्नुभयो । ०४६ सालमा निर्दलीय पंचायती व्यवस्थाको अन्त्य र बहुदलीय प्रजातन्त्रको आगमन, २०६०–०६२ को संयुक्त आन्दोलनबाट निरंकुश राजतन्त्रको अन्त्य र १२ बुंदे सहमती यसैको परिणाम भएको उहाँको भनाइ छ ।
माओवादीलाई शान्तिपूर्ण प्रक्रियामा ल्याउन र राजतन्त्रलाई हटाउन स्वर्गीय गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल प्रचण्ड बीचको आपसी बार्ता र पहलबाटमात्र सम्भव भएकाले दुवै नेताको ठूलो योगदान रहेको उहााले बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पूर्वमन्त्री एवं समानुपातिकतर्फका प्रतिनिधिसभा उम्मेदवार हकिकुल्लाह खाँले मुलुकको समृद्धि, विकास र जनजीविका परिवर्तनका लागि पाँच दलीय गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो ।
क्षेत्र नम्बर ३ (क)का प्रदेशसभा उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका नेता सन्तोषकुमार पाण्डेयले गठबन्धन सरकारले देशको हितमा काम गर्ने बताउनुभयो ।