डडेल्धुरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैदेशिक सम्बन्ध सुधार गर्दै नेपालको लोकतन्त्रलाई अझ सुदृढीकरण गर्ने बताउनुभएको छ ।
डडेल्धुराको अमरगढी नगरपालिकामा आयोजित संयुक्त लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले छिमेकी देश भारत र चीनसँगको सम्बन्ध राम्रो रहेको बताउनुभयो । देशको स्वाभिमान बचाउन र संविधानको रक्षा गर्न आफू प्रधानमन्त्रीको जिम्मेवारीमा आएको उहाँले उल्लेख गर्नुभयो ।
पार्टीको विचार फरक फरक भए पनि राजनीतिक मुद्दामा लोकतान्त्रिक गठबन्धन एक भएर अगाडि बढेको उहाँले बताउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “राजनीतिमा स्थायी शत्रु कोही हुँदैन, त्यसैले माओवादी लगायतका दलसँग गठबन्धन गरिएको हो ।”
सुदूरपश्चिम विकासका लागि अबको पाँच वर्ष धनगढी–डडेल्धुरा चार लेन सडक निर्माण, पश्चिम सेती परियोजनाको काम सुरुवात, डडेल्धुरामा एयरपोर्ट निर्माण, डडेल्धुरा मेडिकल कलेज सञ्चालन लगायत ग्रामीण सडकहरू कालोपत्रे गरिने प्रधानमन्त्री देउवाले बताउनुभयो ।