रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले कुनै समूहलाई निर्वाचनमा भाग नलिने अधिकार भएपनि विथोल्ने अधिकार नभएको बताउनुभएको छ ।
बुटवलमा आयोजित लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उहाँले कुनै दल वा समूहका नाममा निर्वाचन खल्बलाउने र जनताले आफ्ना नेता चुन्ने अधिकार खोसिदिन नपाइनेमा जोड दिनुभयो ।
गृहमन्त्रीले यो कुनै दल वा नेतालाई जिताउने र हराउने निर्वाचन मात्रै नभएर प्राप्त अधिकारको संरक्षण गर्ने र नागरिकको जीवनस्तर बदल्ने अभियान भएको बताउनुभयो ।
गृहमन्त्री खाँणले निर्वाचन विरोधी समूहलाई पनि राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकारले पहल थालीरहेको बताउनुभयो । ‘हामी मिल्नेसम्म लचक भएका छौं कानुन संशोधन गरेर हुन्छ कि ऐन तर्जुमा गरेर हुन्छ सबै दललाई मूलधारमा ल्याउन र विरोधी समूहका मागहरु सम्बोधन गर्ने प्रयासमा छौं,’ उहाँले भन्नुभयो ।
गृहमन्त्री खाँणले सबैको साझा प्रयत्नमा आगामी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायसँगको समन्वयमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुने बताउनुभयो ।
गृहमन्त्रालय र आन्तरीक मामिला, कानुन तथा संचा मन्त्रालय लुम्बिनी प्रदेशले आयोजना गरेको सुरक्षा गोष्ठीमा प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख ससस्त्र, नेपाली सेना र अनुसन्धानका अधिकारीहरु सहभागी छन् । उनीहरुले दिनभर सुरक्षा छलफल गरेर सुरक्षा योजना बनाउने प्रदेशका आन्तरिक मामिला सचिव कोमलप्रसाद धमलाले बताउनुभयो ।