भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले केही राजनीतिक दलहरु जनताको लामो संघर्ष र बलिदान पश्चात् संविधानसभाबाट बनाएको संविधानको रक्षा गर्नु सबैको कर्तव्य भएको बताउनुभएको छ । केही दलहरु च्यात्ने प्रपञ्चमा लागिरहेको आरोप लगाउँदै उहँँले त्यस्ता षड्यन्त्रबिरुद्ध सचेत हुनुु पर्ने खाँणले बताउनुभयो ।
सत्ता गठबन्धन रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत खाँणले मंगलबार भैरहवामा आयोजित कार्यक्रममा बोल्दै सार्वभौमसत्ता जनतामा नीहित हुने व्यवस्था उल्ट्याउने षड्यन्त्र भइरहेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको बताउनुभयो ।
मुलुकबाट निर्मूल भइसकेको राजतन्त्रलाई बोकेर हिँडेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई समेटेर नेकपा एमाले र जनता समाजवादी पार्टीले सत्तारुढ दलहरूकाबिरुद्ध गठबन्धन बनाएको र त्यो तीन दलीय गठबन्धन संविधान च्यात्न र मुलुकलाई पश्चगमनतर्फ धकेल्न लागिरहेको उहाँको तर्क छ ।
नप्रतिनिधिले बनाएको संविधान संसदमा दुई तिहाई मतले संशोधन गर्न सकिने भए पनि जनआन्दोलनको मर्म र भावनाविपरीत संविधान नै च्यात्न उद्धत हुनु प्रतिगमनलाई मलजल गर्नु र मुलुकलाई पुरानै अवस्थामा फर्काउनु भएको खाँणले बताउनुभयो ।
लामो संघर्ष पश्चात् ल्याएको व्यवस्थामा नागरिकको अवस्था परिवर्तन गर्न कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमोर्चाबीच गठबन्धन गरेर निर्वाचनमा होमिएको बताउँदै गृहमन्त्री खाँणले निर्वाचनपछि बन्ने गठबन्धन सरकारले नागरिकको अवस्था परिवर्तन गर्ने रणनीतिक योजना ल्याउने बताउनुभयो ।
प्रदेश सभा (क) का उम्मेदवार लोसपा नेता एवं पूर्वमन्त्री सन्तोषकुमार पाण्डेयले जनताको काम गर्ने र जनताका गुनासा सुन्ने उम्मेदवारलाई मत दिन आग्रह गर्नुभयो ।