काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ ।
सोमबार काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव बेदुराम भुसाललगायतका नेताहरूले सामूहिक रूपमा पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गर्नुभएको हो । घोषणा पत्रमा आत्मनिर्भर अर्थतन्त्रमा जोड दिइएको पार्टीका महासचिव भुसालले बताउनुभएको छ ।
घोषणापत्रमा एकीकृत समाजवादीले पूर्वदेखि पश्चिमसम्म मेगा नहर बनाउने उल्लेख गरेको छ । नेपालको पूर्वदेखि पश्चिमसम्मका सबै नदीलाई एक अर्कासँग जोडी ‘पूर्व–पश्चिम मेगा नहर’ बनाई सिँचाइ, कृषि सडक, खानेपानी तथा जलमार्ग र निश्चित स्थानहरूमा पर्यटकीय स्थथहरूको विकास गर्ने गरी राष्ट्रिय गौरवको आयोजना बनाउन पहल गर्ने एकीकृत समाजवादीले बताएको छ ।
त्यस्तै विदेशबाट फर्केका युवालाई कृषि पेशामा आकर्षित गर्न १० लाखसम्म निर्ब्याजी ऋण दिने व्यवस्था गर्न अभियान नै सञ्चालन गर्न घोषणा गरेको छ ।