काठमाडौँ । सत्ता साझेदार पाँचदलीय गठबन्धनका शीर्ष नेताहरू प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा सिट बाँडफाँटको प्रारूपमा आज पनि छलफल गर्दै छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो सम्पन्न बैठकमा मङ्सिर ४ गतेका लागि तय भएको निर्वाचनका लागि सिट बाँडफाँटको सहमति हुन नसकेपछि आज छलफल हुन लागेको छ । ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलसहितका नेताहरू सिट बाँडफाँटको विषयमा निरन्तर छलफल गरिरहेका छन् ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज बिहान ११ बजे बैठक बस्ने र निर्णय गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “हामी निष्कर्षको नजिक पुगेका छौँ। आज निर्णय गछौं ।
मन्त्री कार्कीले सिट बाँडफाँट निश्चय नै चुनौतीपूर्ण छ भन्दै आज बस्ने बैठकपछि निर्णयमा पुगेर सार्वजनिक गर्ने सम्भावना रहेको जानकारी दिनुभयो। उहाँका अनुसार सिट बाँडफाँटको विषयमा विभिन्न खाकामा छलफल भएको छ।
सत्तारुढ दलहरुवीच सिट बांडफांडका लागि वारम्वार छलफल भइरहे पनि दलहरुले आआफ्नो दावी नछाड्दा सहमति हुन सकेको छैन ।