काठमाडौँ । महाअभियोग सिफारिस समितिले निलम्बनमा पर्नुभएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग आज बयान लिएको छ ।
संसद् सचिवालय सिंहदरबारमा आज बसेको बैठकमा जबराले समितिले सोधेको प्रश्नको जवाफ दिनुहुँदै महाअभियोग स्वतः निष्क्रिय भइसकेको र संसद्को सम्मानका लागि आफू बैठकमा उपस्थित भएको बताउनुभएको समितिका सदस्य एवं नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माले जानकारी दिनुभयो ।
बयानमा निलम्बनमा पर्नुभएका प्रधानन्यायाधीश जबराले सीमा बाहिर गएर जवाफ दिनुभएको, हरेक प्रश्नको जवाफमा समितिका सदस्यहरुले प्रतिप्रश्न गरेपछि बयान लिने क्रम लम्बिएको हो ।
समितिको ४३ र नेपाल बार एसोसिएसनका २१ गरी ६४ प्रश्न रहेकामा आज ४ वटा प्रश्नको मात्रै जवाफ लिइएको समितिका सदस्य कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो ।
जबरालाई बयानका लागि भोलि पुनः बोलाइएको छ ।