रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष विष्णु पौडेल जनताका गुनासा र सुझाव लिन आफ्नो निर्वाचन क्षेत्रको वडावडामा पुग्नुभएको छ ।
बुटवल उपमहानगरमा पार्टीका शाखा कमिटी भेलामा सहभागी भएर उहाँले जनता र कार्यकर्ताका गुनासा सुन्नुका साथै सुझाव लिनुभएको हो । यसैक्रममा आज शाखा कमिटी बुटवल –१३ को बृहद् भेलामा कार्यकर्ताले तिनाउ–दानव करिडोर, सुकुम्बासी समस्या, प्रदेशको स्थायी राजधानी, प्रदेशको औचीत्य, आसन्न प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन सम्बन्धमा कुरा उठाए ।
कतिले पार्टीले प्रतिवद्धता पूरा नगरेको गुनासो गरे भने कतिले प्रदेश सभाकै औचीत्यमाथि प्रश्न उठाए र पार्टीको धारणा मागे । अधिकांशले प्रदेश राजधानी सर्दा आसन्न निर्वाचनमा पार्टीलाई प्रभाव पर्ने होकी भन्दै चिन्ता व्यक्त गरे ।
कायकर्ताको गुनासो सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले रुपन्देहीलाई विकासको नमूना बनाउनका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउनुभयो । पूर्व अर्थमन्त्री समेत रहनुभएका पौडेलले रुपन्देहीको विकासका लागि महत्वपूर्ण योजनाको थालनी भएको जनाउँदै भौतिक पुर्वाधारका दृष्टिकोणले यो ठाउँलाई पछि पर्न नदिने प्रतिवद्धता जनाउनुभयो ।
बुटवल –बेलहिया ६ लेन सडक, तिनाउ र दानव नदीमा निर्मित पुलहरुको निर्माण, अन्तरराष्ट्रिय गौतमबुद्ध विमानस्थल, अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको निर्माणसँगै रुपन्देहीके विकासले नयाँ मोड लिएको जनाउँदै तिनाउ पुलमा सिग्नेचर वृज निर्माणले अझै आकर्षण थप्ने उल्लेख गर्नुभयो । तिनाउ– दानव नदी करिडोर सम्बन्धमा बिरोधीले गलत हल्ला फिजाएकाले त्यसका पछि नलाग्न अनुरोध उहाँले अनुरोध गर्नुभयो ।
त्यहाँका स्थानीयलाई बिचल्ली पारेर यो आयोजना कार्यान्वयन नहुने वचन दिदै उहाँले यो करिडोर क्षेत्रमा पर्ने स्थानीयलाई उपमहानगरभित्रै व्यवस्थित बस्ती बनाएर मात्रै कामको थालनी हुने बताउनुभयो ।
सुकुम्बासी समस्या समाधानका लागि लालपुर्जा वितरणको काम अन्तिम चरणमा पुगेका बेला सरकारले भुमी समस्या समाधान आयोग खारेज गरिदिएकाले समस्या समाधान हुन नसकेको स्पष्ट पार्नुभयो । “हाम्रो प्रयासमा कुनै कमी छैन । अब हामीले बनाएको कानुन अनुसार १० बर्ष अघिदेखिको आवादीले जग्ग्गाधनी पुर्जा प्राप्ति गर्ने प्रावधान छ । समस्या छिटै समाधान हुन्छ”, उहाँले भन्नुभयो ।
उपाध्यक्ष पौडेलले राजधानी नहुदा पनि रुपन्देहीको बिकासलाई प्रभाव नपर्ने बताउनुभयो । “मैले जहिलेपनी बुटवल राजधानी हुनुपर्छ भने । तर, हुन सकेन”, उहाँले भन्नुभयो, “राजधानी नभए बापत यो कुरा भएन भन्ने हुन दिदैँनौ ।”
उपाध्यक्ष पौडेलले गठबन्धन सरकारका कारण प्रदेश सभाको औचीत्यमाथि प्रश्न उठेको बताउनुभयो । संविधानमै संघीयताको प्रावधान रहेकाले यो विषयमा पार्टी प्रतिबद्ध रहेको जनाउँदै उहाँले गठबन्धन सरकारको मनोमानीले प्रदेशमा मन्त्रीमण्डल ठुलो बनाउँदा प्रशासनिक खर्च बढेको बताउनुभयो । केही दल र व्यक्तिको कमजोरीले व्यवस्थामाथि नै प्रश्न उठाउन उचित नहुने जनउँदै भएका कमजोरी सच्चाएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
भेलामा पार्टीका प्रदेश उपाध्यक्ष भोज प्रसाद श्रेष्ठले पार्टी नीति र सिद्धान्तअनुसार गतिविधि अघि बढाउनुपर्ने बताउनुभयो । “ हामी पार्टी सदस्यको रुपमा सबै बराबर छौँ । तर, भूमिका मात्रै फरक छ त्यसैलेपार्टी निति कार्यक्रम कार्यान्वयनमा नेता तथा कार्यकर्ता सबै जिम्मेवार हुनुपर्छ”, उहाँले भन्नुभयो ।
बहुदलीय ब्यवस्था मानेपछी जित र हार स्वभाविक भएको बताउँदै श्रेष्ठले आसन्न निर्वाचनमा उमेदवार छनौट सौहार्दपूर्ण ढंगले गर्नुपर्ने र पार्टी सदस्यको भावना बिपरित कुनै काम नगर्न प्रतिवद्ध हुनुपर्ने बताउनुभयो ।
पार्टीका प्रदेश प्रचार विभाग संयोजक डी आर घिमिरेले समृद्धिका लागि हरेक व्यक्ति उद्यमशील बन्नुपर्ने र त्यसका लागि प्रत्येक वडामा उद्योग स्थापना गरी रोजगारी सृजना गर्नुपर्ने धारणा राख्नुभयो ।
पार्टीका जिल्ला अध्यक्ष तेजेन्द्र केसीले असफलताबाट पाठ सिकेर सफल बन्नतर्फ लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेताहरु बाबुराम पन्थी, मधुकला कुँवर, योग गुरुङ, झविन्द्र थापा, नेतन गुरुङ, भरत गौतम, सन्तबहादुर नेपाली लगायतले बोल्दै प्रतिवद्धतालाई व्यवहारमा उतार्ने गरी काम गर्नुपर्ने बताउनुभयो ।