काठमाडौँ । राष्ट्रियसभाका सदस्य खिमलाल भट्टराईले तिलोत्तमा नगरपालिकाका वडाध्यक्ष हरिबहादुर क्षेत्रीमाथि भएको ज्यादतीबारे गृहमन्त्री बालकृष्ण खाणले संसदमा जवाफ दिनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय सभाको बैठकमा आज बोल्दै उहाँले वडाध्यक्षलाई पौडीपोखरीमा धकेलेको भिडियो सामाजिक सञ्जालमा मार्फत सार्वजनिक भएको जनाउँदै नगरसभामा प्रहरीबाट ज्यादती हुनु दुःखद भएको बताउनुभयो ।
“म नामै लिएर भनन चाहान्छुु, डिएसपी ठगबहादुर केसीले त्यहाँको वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई घोक्य्राएर पोखरीमा चोबलेको छ । त्यसलाई कारबाही हुने की नहुने ?”, उहाँले भन्नुभयो, “गृहमन्त्रीको भाइ त्यहाँ मेयर हुनुहुन्छ । गृहमन्त्रीज्यूको अन्डरमा पुलिस छ । अनि पुलिस लगाएर शासनको दम्भ देखाउने ? गृहमन्त्रीज्यूले त्यहाँको डिटेल रिपोर्ट यो सदनमा पेस गर्नुपर्छ । उहाँको जवाफ आओस् भनेर म जवाफ माग गर्न चाहन्छु ।”
लोकतन्त्रको सुन्दरता भनेकै बहसबाट निष्कर्षमा पुग्ने पद्धती भएको बताउँदै उहाँले सामान्य विवाद हुदैमा प्रहरी लगाएर वडाध्यक्षलाई लछारपछार गर्नु गलत भएको धारणा राख्नुभयो ।
“प्रहरी लगाएर शासनको दम्भ देखाउने, अनि यसले गणतन्त्र बच्छ भन्ने हामीले ठानेका छौँ ? गठबन्धन सधैँ सत्तामा रहन्छ ? ”उहाँले प्रश्न गर्नुभयो । गृहमन्त्री बालकृष्ण खाणले आफ्नै भाइ मेयर भएको ठाउँमा प्रहरीले जनप्रतिनिधीमाथि भएको ज्यादतीबारे सदनलाई विस्तृतरुपमा जानकारी गराउनुपर्ने बताउनुभयो ।