रुपन्देही । तिलोत्तमा नगरपालिकाको नगरसभा बैठक अनिश्चित बनेको छ । विवादका कारण नगरपालिकाको १२ औँ नगरसभाको बैठक पाँचौं पटक स्थगित भएको छ ।
नगरसभाको एजेण्डाका बिषयमा नेपाली कांग्रेस र नेकपाका एमालेबाट निर्वाचित जनप्रतिनिधी बिच असहमती हुँदा बैठक बस्ने टुंगो लागेको छैन । असार २६ गतेदेखि स्थगित हुदै गएको नगरसभा पटक पटक बस्ने प्रयत्न भएको भएपनि सहमती हुने अवस्था नभएपछि आज पनि सूचना टांसेर स्थगित भएको हो ।
आइतवार बोलाईएको नगरसभा गणपुरक संख्या नपुगेको भन्दै नगरप्रमुख रामकृष्ण खाणले स्थगित गरे पछि चर्किएको बिवादका कारण आज दिउँसो १ बजेका लागि बोलाईएको नगरसभा पौने १ बजे सूचना टाँस गरी स्थगित गरिएको हो ।
नगर कार्यपालिकाका सदस्य सचिव माधव पोखरेलले सुचना प्रकाशित गरी मंगलबार बिहान ११ बजे सम्मका लागि नगरसभा स्थगन गरिएको उल्लेख गर्नुभएको छ ।
यसअघि नगरपालिकामा फर्जी माइन्यूट तयार गरी गणपुरक संख्या नपुगेको भन्दै नगरसभा स्थगित गरिएको थियो । नगर प्रमुख रामकृष्ण खाणले फर्जी माइन्यूट तयार गरी गणपुरक संख्या नपुगेको भन्दै नगरसभा स्थगित गरेपछि विवाद शुरु भएको उपप्रमुख जगेश्वरदेवी चौधरीले बताउनुभयो ।
पटक पटक सर्दै आएको नगरसभाको बैठक शुक्रबारका लागि बोलाइएको थियो । बैठकमा नगरप्रमुखले बजेट पारित गर्ने कार्यसूची मात्र पेश गर्नुभएको थियो । तर, एमालेबाट निर्वाचित नगरसभा सदस्यहरुले बजेटका साथै न्यायिक समिति लगायत चारवटा विषयगत समिति गठनलाई पनि कार्यसूचीमा राख्न गरेको आग्रह नगरप्रमुखले अस्वीकार गरेको जनाइएको छ । यही विवादका कारण तिलोत्तमा नगरपालिकाको बजेट पारित हुन सकेको छैन ।
यसअघि असार २८ गतेको कार्यपालिका बैठकमा एमालेबाट निर्वाचित जनप्रतिनिधिले न्यायिक समिति, लेखा समिति, विधायन समिति र सुशासन समिति गरी चारवटा विषयगत समिति नगरसभाले पारित गर्नुपर्ने वैधानिक व्यवस्था भएकाले बजेट पारित गर्ने दिन यी विषयलाई पनि कार्यसूचीमा राख्नुपर्ने अडान लिएका थिए ।
आइतबारको बैठकमा उपस्थिती पुस्तिकामा हस्ताक्षर गर्न रोक लगाएको भन्दै आक्रोशित बनेका एमालेका जनप्रतिनिधीहरुले प्रमुख प्रशासकिय अधिकृत जिवन ज्ञवालीलाई घेरा हाली नियन्त्रणमा लिन खोजेपछि उद्वारको लागि गएको प्रहरीले जनप्रतिमाथि दुव्र्यवहार गरेपछि विवाद झनै बढेको छ ।
नगरसभास्थलमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक रविन्द्र रेग्मी र इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक ठगबहादुर केसीको नेतृत्वमा पुगेको प्रहरी टोलीले प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलाई लैजाने क्रममा प्रहरीले आफुहरुमाथी हातपात र दुव्र्यवहार गरेको एमालेका जनप्रतिनिधीले बताएका छन् ।
विवादकै क्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक ठगबहादुर केसीले तिलोत्तमा नगरपालिका वडा नंं ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाइ नगरसभा भइरहेको होटलको स्वीमिङ पुलमा धकेलेपछि एमाले जनप्रतिनिधि रुष्ट छन् ।