रुपन्देही । नेकपा एकिकृत समाजवादी पार्टीको लुम्बिनी प्रदेश र रुपन्देही जिल्ला समितिमा हेरफेर गरिएको छ ।
बुटवलमा आज सम्पन्न लुम्बिनी प्रदेश समितिको बैठकले पार्टीको लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डेलाई चयन गरेको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको आतिथ्यतामा सम्पन्न प्रदेश समितिको बैठकमा प्रदेश अध्यक्ष रहेका सहरी बिकास मन्त्री मेटमणी चौधरीको प्रस्तावमा पाण्डेलाई अध्यक्ष बनाउने निर्णय भएको केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले जानकारी दिनुभयो ।
यसैगरी प्रदेश समितिको बैठकले रुपन्देही जिल्ला समितिको जिम्मेवारीमा पनि हेरफेर गरेको छ । बैठकले पार्टीको रुपन्देही जिल्ला अध्यक्षमा अविराम विकलाई चयन गरेको छ । यसअघि राजु गुरुङले अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
पार्टीको उपाध्यक्षमा श्रीराम यादव र उपाध्यक्ष चिन बहादुर गुरुङ चयन हुनुभएको छ । सचिवमा सरीता श्रीषलाई जिम्मेवारी दिइएको छ । यसैगरी उपसचिवमा टंक पोखरेल , मिरा श्रेष्ठ र थानेश्वर खरेल रहनुभएको छ । पार्टीको जिल्ला समिति २०५ सदस्यीय रहेको केन्द्रीय सदस्य भट्टराईले बताउनुभयो ।