रुपन्देही । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बुद्धभूमि नेपाललाई युद्धबाट अक्षुण्ण राख्नुपर्नेमा जोड दिनुभएको छ ।
विश्वमा युद्धको कालो बादल मडारीएको जनाउँदै उहाँले एशियामा पनि त्यसको लक्षण देखा परेकाले सचेत रहनुपर्ने बताउनुभयो । “बुद्धको शान्ति भूमिलाई द्धन्द्धबाट टाढा राख्नुपर्छ,।” समाजवादी प्रेस संगठन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो “राष्ट्रिय हितका विषयमा हामी एकताबद्ध हुनुपर्छ ।”
राष्ट्रिय हित र सुरक्षालाई केन्द्रविन्दुमा राखेर छिमेकी र अन्य मुलुकसँगको सम्बध विस्तार गर्दै जानुपर्ने उहाँले बताउनुभयो ।
नेपाल असंलग्न परराष्ट्र नीतिको पक्षमा रहेकाले यसैमा अडिग रहेर अन्तरराष्ट्रिय सन्धि सम्झौता गर्नुपर्ने उहाँको भनाइ छ ।
अध्यक्ष नेपालले पाँच दलीय गठबन्धन पनि यही नीतिका पक्षमा रहेर अस्थिरताबाट देशलाई जोगाउने काम गरेको बताउनुभयो । पाँच दलीय गठबन्धनबाट सरकारका विभिन्न पदमा रहेका मन्त्रीतर्फ इङ्गित गर्दै उहाँले देश र जनताप्रति सेवाभाव र समर्पण भाव राखेर राख्नुपर्ने बताउनुभयो । “देखाउने दाँत एउटा र खाने अर्को नहोस् । भित्र बाहिर एउटै होस् । जनताले खोजेको त्यही हो”, अध्यक्ष नेपालले भन्नुभयो ।
संघ र प्रदेशको निर्वाचनमा पनि पाँच दलीय गठबन्धनबिच सहकार्य रहने बताउँदै उहाँले अहिलेको अवस्थामा यो आवश्यक रहेको उल्लेख गर्नुभयो । आगमी निर्वाचनको मिति घोषणा भएलगत्तै सहि नीति र दृष्टिकोण बोकेर पार्टी जनतामा जाने तयारी गरेको उहाँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा पत्रकारले राखेको जिज्ञासाको जवाफ दिदै उहाँले आगामी निर्वाचनमा नेकपा एमालेसँगको सहकार्य सम्भव नभएको प्रष्ट पार्नुभयो । “एमालेसँग गठबन्धन गर्नका लागि ढोका बन्द छ, ढोका बन्द भएपछि कुनै सम्भावना रहने कुरा भएन । हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ । गलत प्रवृत्तिले गर्दा हानीनोक्सानी के के भयो सबैले मम गरौँ ”, उहाँँले भन्नुभयो ।
अध्यक्ष नेपालले गत स्थानीय तहको निर्वाचनमा मतपत्रको व्यवस्था, मतदाता शिक्षा, घरदैलो र सबै स्थानीय तहमा उम्मेदवारी दिन नसक्दा नौ लाख २७ हजार मतमात्रै प्राप्त गरेको जनाउँदै उहाँले अब संघीय निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको बताउनुभयो ।
अध्यक्ष नेपालले कांग्रेसमा भएको चरम गुटबन्दीले स्थानीय तह निर्वाचनमा उम्मेदवारको टुंगो लगाउन समस्या भएपनि समाजवादीमा सहज तरिकाले दुई तिहाइ स्थानमा एक्लै उम्मेदवारी दिँदा पनि सानदार जित हासिल गरेको बताउनुभयो ।