काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्मालाई बहिष्कार गरेको छ ।
राष्ट्रिय सभाको शुक्रवारको बैठकमा अर्थमन्त्री शर्माले बजेट आश्रित विधेयकहरु सभामा पेस गर्ने कार्यसूची रहेकामा एमालेले बजेट निर्माणका क्रममा अर्थमन्त्रीले अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा छिराएर करको दायरालाई हेरफेर गरेकाले राजीनामा माग गरेको हो ।
एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले अर्थमन्त्रीको राजीनामा नआउञ्जेल कुनै कार्यक्रममा सहभागी नहुने पार्टीको संसदीय दलको निर्णय भएको बतााउनुभयो ।
बारम्बार संसदमा कुरा उठिरहेकाले अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उहाँको भनाइ छ ।
एमालेले अर्थमन्त्रीलाई बहिष्कार गरेसँगै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो प्रस्ताव पेस गर्न अर्थमन्त्री शर्मालाई आग्रह गर्नुभएको थियो । बैठकमा अर्थमन्त्रीले पेस गरेको ‘आर्थिक विधेयक २०७९ लाई मुल रुपमै सुझाव बिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव बहुमतले पारित भएको छ ।
त्यस्तै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक २०७९ लाई मुल रुपमै सुझाव बिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस’ भन्ने प्रस्ताव स्वीकृत भएको घोषणा गर्नुभएको छ ।
त्यसैगरी, अर्थमन्त्री शर्माले पेस गरेको ‘ऋण तथा जमानत (पच्चिसौँ संशोधन) विधेयक २०७९ लाई मुल रुपमै सुझाव बिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पनि बहुमतले पारित भएको छ । अर्थमन्त्री शर्माले पेस गरेको प्रस्तावमाथिको कारबाही सकिए लगत्तै एमाले सांसदहरु पुनः राष्ट्रिय सभा बैठकमा भाग लिन प्रवेश गरेका थिए ।