चितवन-केपी शर्मा ओलीले पनि एमाले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन्। उनीअघि भीम रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका थिए। यससँगै अध्यक्षमा ओली र रावलबीच निर्वाचन हुने निश्चित भएको छ।
उम्मेदवारी दर्ता गर्न ओली सेभेन स्टार होटल पुगेका थिए। उम्मेदवारी दर्तालगत्तै उनी होटलबाट बाहिरिएका छन्।
ओलीले आफ्नो अध्यक्षतामा १९ पदाधिकारीको नामावली सार्वजनिक गर्दा रावलको नाम समावेश गरेका थिएनन्। त्यस्तै उनले पदाधिकारीहरुमा नाम छुटाएका घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। केन्द्रीय सदस्यमा नाम प्रस्ताव गरेका रावल र भुसालपछि भीम आचार्यले पनि सचिवमा उम्मेदवारी दर्ता गराएका छन्।
१० बुँदे सहमतिपछि एमालेमा फर्किएका १० नेतामध्ये रावल, भुसाल र आचार्यलाई ओलीले पदाधिकारीमा समेटेका थिएनन्।
उम्मेदवारी दर्ता गर्ने क्रम लम्बिएपछि निर्वाचन समितिले उम्मेदवारी दर्ता गर्ने समय आधा घन्टा बढाएको छ। यसअघि सोमबार बिहान ९ः३० सम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको थियो। अहिले बिहान १० बजेसम्म बढाइएको छ।
सार्वजनिक गरिएको निर्वाचन तालिका अनुसार मध्याह्न १२ः०५ बजे उम्मेदवारहरुके अन्तिम नामावली प्रकाशन गरिनेछ। मतदान भने आज राति ९ बजेदेखि मंसिर १४ गते बिहान ३ बजेसम्मलाई निर्धारण गरिएको छ। मतदान सकिएलगत्तै मतगणना हुने केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिए।