काठमाडौँ — नेकपा एमालेका उपमहासचिव घनश्याम भूसालले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । उनले सबै पक्षसँग सल्लाहपछि उपाध्यक्षमा उम्मेदवारी दिने निष्कर्षमा पुगेको बताए ।
'सबै साथीहरूसँग सल्लाहपछि उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु' भूसालले भने । यसअघि नेता भूसाललाई उनी निकट नेता तथा कार्यकर्ताहरूले अध्यक्षमा नै उम्मेदवारी दिन सल्लाह दिएका थिए ।
भूसाल निकट नेताहरूका अनुसार भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने भएपछि उनी पछि हटेका हुन् । एमालेको विधानमा चार उपाध्यक्षको व्यवस्था रहेको छ ।
चितवनमा शुक्रबार नेकपा एमालेको १०औं महाधिवेशनको उद्घाटन समारोह सकिएलगत्तै उनले आफू उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । यद्यपि उनले औपचारिक घोषणा भने गरिसकेका छैनन।
शनिबार बन्दसत्र सुरु हुनुअघि नै उनले आफ्नो उम्मेदवारीबारे सार्वजनिक रुपमा घोषणा गर्ने बुझिएको छ ।
यसअघि अध्यक्ष केपी ओलीले भने १०औं महाधिवेशनमा प्रतिस्पर्धा गर्नुअघि परिणामबारे पनि सचेत रहनुपर्ने प्रतिक्रिया दिएका थिए ।