काठमाडौ -राप्रपाका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनिल बहादुर थापा राप्रपा छोडेर कांग्रेस प्रवेश गरेका छन्।
थापालाई सभापति शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रमबीच स्वागत गरेका हुन्। पूर्वमन्त्रीसमेत रहेका थापासहित ५० जना राप्रपाका नेता तथा कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका हुन्। थापासँगै राप्रपाका ९० भन्दा धेरै नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन्।
थापाले आफू कांग्रेसमा प्रवेश गर्दा महामन्त्री र केही केन्द्रीय सदस्य पाउनुपर्ने माग गरेका थिए। महामन्त्री दिने विषयमा पार्टीभित्र चर्काे आलोचना भएपछि देउवाले महामन्त्री दिन नसक्ने र सहमहामन्त्री दिन सक्ने बताएका थिए।
अन्ततः थापाले देउवाको प्रस्ताव स्वीकार्दै सहमहामन्त्री पद लिएर कांग्रेस प्रवेश गरेका हुन्। थापासहित ३१ नेताले शनिबार संयुक्त रूपमा राप्रपामा राजीनामा दिएका थिए।