बैतडी: नेपाली कांग्रेस बैतडीको सभापतिमा चतुरबहादुर चन्द विजयी भएका छन् । आज बिहान सार्वजनिक भएको मत परिणामअनुसार चन्द ३२० मतान्तरले विजयी भएका हुन् ।
सभापतिमा चन्दले ८०९ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्दी शिवराज भट्टले ४८९ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिए। यस्तै उपसभापतिमा वीरबहादुर विष्ट ६५८ मत प्राप्त गरी विजयी भए ।
अर्का उपसभापतिमा चन्द प्यानलका खगेन्द्रसिंह धामी ६२४ मतसहित विजयी भए । उपसभापतिमा चन्द प्यानलका रमेशदत्त पाण्डे ९६०८० र भट्ट प्यानलका हरिसिंह धामी ९५५२० मत ल्याएर पराजित भए ।
यस्तै सचिवमा चन्द प्यानलका प्रेमबहादुर चन्द ६४० तथा देवराज जोशी ६३३ मत प्राप्त गरी विजयी भए । सचिवमा पराजित भट्ट प्यानलका रमेशसिंह भण्डारीले ५९५ र कर्णबहादुर बोहराले ५२९ मत प्राप्त गरे ।
सहसचिवमा पनि चन्द प्यानलकै दीपेन्द्रबहादुर चन्द ६६६ र दशरथसिंह चाड ६५४ मत ल्याएर विजयी भएका निर्वाचन अधिकृत जोशीले जानकारी दिए । सो पदमा पराजित भट्ट प्यानलका घनश्याम भट्टले ५३० र रमेश कोलीले ५७४ मत ल्याए ।
एक उपसभापतिबाहेक सबै पदाधिकारीमा चन्द प्यानलकै उमेदवार विजयी भएका छन् । जिल्लामा एक हजार ४०२ प्रतिनिधि रहेकामा एक हजार ३४८ मत खसेको थियो । रासस