काठमाडौं: एमालेको वरिष्ठ उपाध्यक्ष पदमा संसदीय दलका उपनेता सुवास नेम्वाङ दाबी गर्ने भएका छन्।
शुक्रबारदेखि चितवनमा हुने पार्टीको दशौँ महाधिवेशनमा नेम्वाङले अध्यक्ष पछिको दोस्रो पदमा उम्मेद्वारी दिने भएका हुन्। उनले आफू सर्वसहमत रुपमा नेतृत्व चयन गर्नुपर्ने पक्षमा रहे पनि चुनाव हुने अवस्थामा वरिष्ठ उपाध्यक्षमा दाबेदारी प्रस्तुत गर्ने बताए।
उनले भने, ‘म सर्वसहमत रुपमा नेतृत्व चयन गर्नुपर्छ भन्ने पक्षमा छु। यदी उम्मेद्वारी दिनुपर्ने अवस्था आयोग भने म वरिष्ठ उपाध्यक्ष पदमा दिन्छु। साथीहरुसँग वरिष्ठ उपाध्यक्ष बन्नुपर्छ भन्नुभएको छ। उहाँहरुसँग पनि छलफल गरेर अघि बढ्छु।’
नेम्वाङले एमालेको २०६५ मा आठौँ र २०७१ मा भएको नवौँ महाधिवेशनमा भाग लिन पाएका थिएनन्। २०६३ देखि २०७२ सम्म निरन्तर सभामुख रहेका कारण उनी पार्टीको प्रत्यक्ष राजनीतिबाट टाढा थिए।
एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेपछि उनी एकैपटक पार्टीको स्थायी कमिटि सदस्यमा चयन भएका थिए। हाल उनी दलको उपनेतासँगै एमाले स्थायी कमिटी सदस्य समेत हुन्।
अध्यक्षपछिको दोस्रो पदमा महासचिव ईश्वर पोखरेलले पनि दाबी प्रस्तुत गरेका छन्। माओवादीबाट आएका रामबहादुर थापा बादललाई पनि वरिष्ठ उपाध्यक्ष बनाउनुपर्ने दबाब उक्त समूहले अध्यक्ष ओलीलाई दिएका छन्। रासस